close

गाईघाटमा अन्तर्राष्ट्रिय स्तरको प्रदेशकै नमुना त्रियुगा बसपार्क बन्ने (भिडियो खबर)

गाईघाटमा अन्तर्राष्ट्रिय स्तरको प्रदेशकै नमुना त्रियुगा बसपार्क बन्ने (भिडियो खबर)

ADVERTISEMENT

उदयपुर - उदयपुरको सदरमुकाम गाईघाटमा अन्तर्राष्ट्रिय मापदण्डमा प्रदेशकै नमुना बसपार्क निर्माण हुँदै छ । त्रियुगा नगरपालिका- १२ स्थित त्रियुगा नदी किनारामा सञ्चालित साविक बसपार्कलाई नै स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । 


त्रियुगा नगरपालिकाको समन्वयमा नगर गौरवको योजना त्रियुगा बसपार्क प्रदेशकै नमुना बसपार्क हुने सघन शहरी विकास तथा भवन निर्माण डिभिजन राजविराजका इन्जिनियर ब्रह्मदेव चौधरीले बताए ।


त्रियुगा बसपार्क अत्याधुनिक, सुविधा सम्पन्न, यातायात व्यवसायीमैत्री र यात्रुमैत्री हुने बताइएको छ । सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट-कदमाहा सडक खण्डसँग जोडिएको यस बसपार्कमा गाडीहरू पूर्वी नाकाको उत्तर-दक्षिण द्वारबाट प्रवेश गर्ने र बाहिर जानेछन् ।


गाडी पार्किङका लागि दायाँ-बायाँ फूलबारीयुक्त फराकिला कालोपत्रे ‘पार्किङ लट’ बनाइनेछ, जसमा ‘फलामे सेड’ हालिनेछ । भित्री सडक पनि सबैतिर फूलबारीयुक्त र कालोपत्रे हुनेछन् । बसपार्क भित्रिएका, पार्किङ गरिएका र बाहिरिएका हरेक गाडीको अभिलेख राख्न, नियन्त्रण गर्न र परिचालनको निगरानी गर्न बसपार्कको बीचमा सुविधायुक्त कार्यालय भवन (टर्मिनल बिल्डिङ) निर्माणाधीन छ । यसमा बुकिङ काउन्टर, बस छुट्ने तथा आइपुग्ने समयबारे यात्रुलाई जानकारी गराउन माइकिङसहितको ध्वनि बडापत्र सेवा सञ्चालन गरिनेछ ।


त्यस्तै, बसपार्कभित्र यात्रु प्रतीक्षालय, घण्टाघर, आधुनिक उपकरणयुक्त ग्यारेज ९सर्भिस सेन्टर०, खाजा घर, उपभोग्य सामानका सपिङ कम्पेक्सहरू र महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि निर्माण गरिने इन्जिनियर चौधरीले जानकारी दिए । बसपार्कभित्र अवैधानिक गतिविधि हुन नदिन तथा सुरक्षार्थ प्रहरी बिट स्थापना गरिनेछ । 


पाकेटमारी, चोरी, डकैती र अवाञ्छित क्रियाकलापबाट मुक्त राख्न बसपार्कभर क्लोज सर्किट क्यामेरा ९सीसी क्यामेरा० जडान गरिनेछ, जसको नियन्त्रण कक्ष टर्मिनल भवन र प्रहरी बिटमा राखिनेछ । त्रियुगा नदी किनारको नदी उकास जमिनमा बन्ने उक्त बसपार्कको दक्षिणतर्फ तटबन्धसँगै आकर्षक फूलबारी बनाइनेछ ।


करिब ५ बिघा क्षेत्रफलमा बन्ने बसपार्कको गत वर्षदेखि नै निर्माणको काम भइरहेको छ । कुल २४ करोड रुपैयाँ लागत स्टिमेट रहेको त्रियुगा बसपार्कको संरचना निर्माणमा मात्र मूल्य अभिवृद्धि करबाहेक १९ करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । तर, बोलपत्र आह्वानपछि निर्माण कम्पनीले झन्डै ३४ प्रतिशत कम अर्थात् १२ करोड ६१ लाख रुपैयाँमा रमण÷आईएसएनडी जेभीले निर्माणको जिम्मा लिएको डिभिजन कार्यालय राजविराजका इन्जिनियर चौधरीले जानकारी दिए ।


निर्माण कम्पनीबीच प्रतिस्पर्धामा झन्डै आधा मूल्यमा बनाउने टेण्डर परेपछि नियमानुसार त्यही छनोटमा परेको उनले बताए । ‘हामीले प्रदेशकै नमुना र व्यवस्थित बसपार्क बनाउने गरी बनाएको इस्टिमेटमा भ्याटबाहेक १९ करोड २५ लाख रुपैयाँको संरचना निर्माण हुनेछ’, इन्जिनियर चौधरीले भने, ‘तर, निर्माण कम्पनीहरूबीचको प्रतिस्पर्धामा सबैभन्दा कम मूल्य १२ करोड ६१ लाख रुपैयाँमा निर्माण गर्न सक्छु भन्ने कम्पनीलाई नियमानुसार कामको जिम्मा दिइएको हो ।’


त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले बन्न लागेको बसपार्कले यात्रुलाई सुविधासँगै गाईघाटलाई ‘स्मार्ट सिटी’ बन्न मद्दत गर्ने बताए । गाईघाट बजार शहरी विकास मन्त्रालयद्वारा दुई वर्षअघि घोषित देशभरका २५ व्यवस्थित शहर (स्मार्ट सिटी) मध्ये एक भएको उनको भनाइ छ । त्रियुगामा ‘एक शहर, एक पहिचान कार्यक्रम’अन्तर्गत विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिए ।

 

‘यो बसपार्क त्रियुगालाई सभ्य र व्यवस्थित शहरको पहिचान दिलाउने प्रमुख प्रोजेक्ट हो’, नगरप्रमुख चौधरीले भने, ‘शहरको मुख्य चिनारीमध्ये बसपार्क प्रमुख हो, त्यसैले यो अत्याधुनिक बसपार्कले हामी र हाम्रो परिचय बदल्ने अपेक्षा गरेका छौँ ।’


शहरी विकास मन्त्रालयले ‘एक शहर, एक पहिचान कार्यक्रम’बाट गाईघाटलाई नमुना शहर बनाउने अभियानमा नगरपालिकाले समन्वय गरिरहेको भन्दै नगरप्रमुख चौधरीले उदयपुरलाई प्रदेशकै नमुना र सभ्य जिल्लाको पहिचान बनाउन बसपार्क सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । 


अत्याधुनिक बसपार्क अढाई वर्षभित्र बनाइसक्ने गरी ३१ असार २०७६ मा सम्झौता भएबमोजिम टर्मिनल भवन २०७६ कात्तिक अन्तिमदेखि सुरु भएको हो । ३० कोठे अढाई तल्लाको भवन निर्माणको रेखदेखको जिम्मा पाएको सघन शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ ।


‘आउँदो २०७८ पुुसभित्र बसपार्कको सबै काम सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ’, प्रबन्धक यादवले भने, ‘तर, हामी म्यादभन्दा कम्तीमा छ महिनाअघि नै सकेर बुझाउने उद्देश्यका साथ तीब्र गतिमा काम गरिरहेका छौँ ।’ टर्मिनल भवनको काम वर्ष दिनभित्रै सक्ने र अन्य संरचना पनि सँगसँगै बनाउने योजना निर्माण कम्पनीको छ ।


त्रियुगा नदी उकासको जमिनमा निर्माणाधीन बसपार्कको दक्षिणतर्फ बगिरहेको त्रियुगा नदीबाट बचाउन ५०० मिटरभन्दा लामो पक्की तटबन्ध पनि बाँधिनेछ भने बाँध उकासमा आकर्षक फूलबारी बनाउने योनजा रहेको नगरप्रमुख चौधरीले बताए ।नगर गौरवको योजना भएकाले यसलाई छिटो सक्नुपर्नेमा आफ्नो जोड रहेको चौधरीको भनाई छ ।