close

भीमफेदीको दुर्गममा सडक पुगेपछि...

भीमफेदीको दुर्गममा सडक पुगेपछि...

Trulli
ADVERTISEMENT

मकवानपुर- भौगोलिक रूपले विकट भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम थियो । भीमफेदी ऐतिहासिक बजार पनि हो ।


तत्कालीन राणाहरू भारतबाट काठमाडौं आउँदा भीमफेदीमा सवारी राख्ने, विश्राम गर्ने र रात बिताउने स्थान थियो । राणाहरूले भीमफेदीमा थुप्रै संरचना पनि बनाएका छन् । कतिपय संरचना हाल पनि भीमफेदीमा देख्न पाइन्छ । देशमा संघीयता आएपछि  भीमफेदीकै नाममा गाउँपालिकाको नामकरण भयो ।  ऐतिहासिक महत्त्व बोकेको भीमफेदी बजार अग्ला पहाडहरूको फेदीमा पर्छ ।


भीमफेदीबाट बागमती प्रदेशको राजधानी हेटौँडा आउन करिब एक घण्टा र काठमाडौं पुग्न झन्डै तीन घण्टा लाग्छ । भौगोलिक रूपले दुर्गम भीमफेदीका सबै वडामा सडक पुग्न सकेको छैन । गाउँपालिकाले पहिलो वर्षबाटै गाउँगाउँमा सडक निर्माणलाई प्राथमिकता दिएको छ ।

 

गाउँबाट भीमफेदी जोड्ने सडक नहुँदा वर्षौंदेखि पैदल यात्रा गर्दै आएका स्थानीयले गाउँपालिका आएपछि गाउँमै सडक पुगेको देख्न पाएका छन् ।


भीमफेदी- ८ महभिरका बासिन्दाले यसअघि सडक पहुँच नभएका कारण गाउँमा उत्पादन भएका कृषि सामग्री बोकेरै बजारसम्म ल्याउन बाध्य थिए । महभिरवासीलाई अब यो दुःख हटेको छ । गाउँपालिकाले महभिरलगायतका दुर्गम गाउँसम्म पुग्ने सडकको ट्र्याक खोलेपछि स्थानीय गाडी चढेरै भीमफेदी बजार र हेटौँडा आउन पाउने भएका छन् । महभिरका ७७ वर्षीय देवानसिंह गोलेले बुढेसकालमा सडक आइपुगेको देख्दा खुसी भएको बताए ।


गाउँपालिकाले निर्माण गरेको सडकको प्रगतिबारे स्थलगत निरीक्षणको क्रममा पुगेका प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, गाउँपालिका अध्यक्ष हिदम लामालाई गाउँमा सडक ल्याएको भन्दै स्थानीयले फूलमालाले सम्मान व्यक्त गरे ।


‘सडक नभएपछि गाउँबाट बजार जाने कुरै थिएन । भीमफेदी गएर आउँदा त दुई दिन लाग्थ्यो । अब सडक आएको छ । एक दिनमै हेटौँडा पुगेर आउन सक्छौँ’, गोलेले प्रसन्न मुद्रामा भने ।


सडक संजालले नजोडिएका कारण गाउँका अधिकांशले उपचारको अभावमा ज्यान गुमाउनुपरेको गोले बताउँछन् । भीमफेदी गाउँपालिकाले दुई वर्ष लगाएर एक करोड ५० लाख रुपैयाँको लागतमा सडक गाउँसम्म पुर्‍याएको हो । गाउँपालिकाको महभिर, बाह्रघरेलगायतका गाउँका ३०० घरधुरी सहज सडक पहुँचसँग जोडिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।


भीमफेदी-कोगटे-देउराली-सिस्नेरी सडक खण्डको भीमफेदी- ७ मेलटारबाट गाउँपालिकाले आठ किलोमिटर लामो सडक निर्माण गरेको हो । ‘यतिका वर्षसम्म हामीले हिँडेरै बजार आउजाउ गरेका थियौँ । सडक आउला भन्ने कल्पना पनि थिएन’, स्थानीय ६६ वर्षीय दिलबहादुर घलानले भने ।


घलानलाई सडक खण्डमा पर्ने चक्कुभिरलाई छिचोलेर गाउँसम्म सडक निर्माण हुनेमा विश्वास थिएन । पैदल हिँड्न पनि मुस्किल रहेको चक्कुभिर काटेर गाउँपालिकाले बाटो निर्माण गरेपछि गाउँका कृषि उपज बजारसम्म पुग्ने भएपछि स्थानीय प्रफुल्लित छन् ।


कृषि उपज बजारसम्म ल्याउनबाट बञ्चित स्थानीले सडक नहुँदा उपचार पनि समयमै पाउन नसकेको वडा सदस्य सीता थिङले बताइन् । सडक बनेपछि बिरामीलाई बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । वडा सदस्य थिङका अनुसार बाटो गाउँसम्म जोडिएपछि स्थानीयले आफ्नो बारीमा उत्पादित केराउ, सिमीलगायतका तरकारी हेटौँडा बजार ल्याएर बिक्री गरेका छन् ।


मकवानपुर भौगोलिक रूपले विकट जिल्ला हो । यहाँ एक उपमहानगरपालिका, एक नगरपालिका र आठवटा गाउँपालिका छन् । जिल्लाका १० वटै स्थानीय तहमध्ये अधिकांश पालिकाका हरेक वडासम्म हालसम्म पनि सडक पुग्न सकेको छैन । यी सबै गाउँपालिकाहरूले पहिलो वर्षदेखि नै पूर्वाधार विकासतर्फ सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।