close

हेल्लो ! हेल्लो !! हेल्लो !!, सुनियो आवाज ?

हेल्लो ! हेल्लो !! हेल्लो !!, सुनियो आवाज ?

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको सुगम नगरपालिका मानिएको बर्दिवासमा अझै सर्वसाधारणहरू मोबाइलबाट कुराकानी गर्न घण्टौँ हिँडेर बजार क्षेत्रमा आउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ ।
 


तर, नेपाल टेलिकम र एनसेलको टावर राख्ने योजनाले पूर्णता पाउन नसक्दा बर्दिवास- १० र ११ को  माथिल्लो  भेग भाङग्रे, झ्याउरे, गर्दी, गुरुङ, छोड्के, सुकेदमा, पीपलदमाका
अधिकांश सर्वसाधारणहरू संचारबाट टाढा छन् ।

 


हातहातमा मोबाइल भए तापनि नेटवर्कका लागि खयरमारा, लालबन्दी र बर्दिवास बजार नै आउनुपर्ने बाध्यता रहेको  स्थानीयको गुनासो छ ।

 


नेटवर्कका लागि टावर राख्न वर्षौंदेखि जनप्रतिनिधि र वडा अध्यक्ष धनबहादुर लामाले योजना अगाडि बढाए तापनि राजनीतिक खिचातानी र शक्तिको प्रतिस्पर्धाले सम्भव नभएको स्थानीयहरूको भनाइ छ ।

 

 

दुई वर्ष अगाडि टावर बर्दिवास नगरपालिकाकै उच्च ठाउँ चनौटेमा राख्ने तय भएको तर  केही स्थानीय नेताका कारणले खयरमाराको बजार क्षेत्रमा  राखिएको भाङ्ग्रेका स्थानीय युवा इशारा लामाले बताए ।

 


नेटवर्क नभएका कारण इन्टरनेट नहुँदा सूचनाको हकबाटसमेत बन्चित भएको बताउँदै लक्ष्मीवास माध्यमिक विद्यालय भाङ्ग्रेका प्रधानध्यापक तीर्थ गोलेले वडा- १० र ११ का सर्वसाधारणहरूलाई यतिबेला जेल जस्तै भएको गुनासो गरे ।

 


उनले भने, 'सरकारले वैकल्पिक शिक्षाको  मुख्य प्राथमिकतामा राखेको अनलाइन कक्षा हाम्रो ठाउँमा सम्भावना जिरो भएपछि विद्यार्थीलाई विद्यालयमा नै बोलाएर भौतिक दूरी कायम गर्दै पठनपाठन गराइरहेका छौँ ।'

 

यता, बर्दिवास नगरपालिकाका नगरप्रमुख विदुर कार्कीले   वडा- १० र ११ को उक्त  समस्याको सावधानका लागि गृहकार्य भइरहेको  बताए ।

 


'उहाँहरूको नेटवर्कको समस्यालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ अब स्थानीय बासिन्दाहरूले धेरै पर्खनुपर्दैन', नगरप्रमुख कार्कीले बताए ।

 


त्यहाँका प्रभावित क्षेत्रलाई अध्ययन गरी  गृहकार्य गरिरहेको बताउँदै नेटवर्कको कारण समस्या झेलिरहेका स्थानीय बासिन्दालाई नगरप्रमुख कार्कीले ढुक्क हुन आग्रहसमेत गरेका छन् ।

 

बर्दिवास नगरपालिकाभित्रका   भाङ्ग्रे, झ्याउरे, गर्दी, गुरुङ, छोड्के, सुकेदमा, पीपलदमा, चेरु तथा नेटवर्कको पहुँच नभएका हरेक ठाउँमा सूचना तथा संचार मन्त्रालयमा सर्वसाधारणले झेलिरहेका समस्याको विषयमा ध्यानाकर्षणसमेत गराइसकेको नगरप्रमुख कार्कीको भनाइ छ ।