close

सम्झौताकाे ५ महिनापछि पुल शिलान्यास, समयमै काम नसके कारबाही गर्ने सरकारकाे चेतावनी

सम्झौताकाे ५ महिनापछि पुल शिलान्यास, समयमै काम नसके कारबाही गर्ने सरकारकाे चेतावनी

Trulli
ADVERTISEMENT

ओखलढुंगा -  ओखलढुंगा-रुम्जाटार सडकको वैकल्पिक मार्गमा पर्ने सिस्ने खोला पक्की पुल ठेक्का सम्झौता भएको ५ महिनापछि शिलान्यास भएको छ । प्रदेश सरकारको अनुदानमा पूर्वाधार विकास कार्यालयसँग सम्झौता भएको ५ महिनापछि पुल शिलान्यास गरिएको हो ।

 

कम्पनीले २५ असार २०७७ मा सम्झौता गरेर २४ असार २०७९ मा पुल निर्माण सम्पन्न गर्ने समझदारी छ । पुल सिद्धिचरण नगरपालिका वडा-११ मिलनचोकदेखि रुम्जाटारसम्म जोड्ने मिलनचोक-सपनावति-रम्जाटार सडक खण्डमा पर्छ ।

 

सदरमुकाम ओखलढुंगाबाट ६ किलोमिटरको दूरीमा रुम्जाटार जोड्ने उक्त वैकल्पिक सडकमा पर्ने पुल निर्माण भएपछि सदरमुमकाबाट चिशंखुगढी गाउँपालिका जानसमेत दूरी छोटो पर्छ । 

 

सिस्ने खोलामा ३५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको प्रिस्ट्रेस आरसिसी पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स बिल्डर्स प्रालि काठमाडौँले लिएको छ ।

 

पुल निर्माणको कुल लागत ५ करोड ४४ हजार ४ सय ४२ रुपैयाँ छ । पुलको प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्वीरबाबु गुरुङले शिलान्यास गरे । उद्घाटनमा सिद्धिचरणका प्रमुख मोहनकुमार श्रेष्ठ, उपप्रमुख इच्छाकुमारी गुरुङलगायत जनप्रतिनिधि सहभागी थिए ।


कार्यक्रममा मन्त्री गुरुङले पुल निर्माण समयमै सम्पन्न गर्न नसके ठेकेदारलाई कारबाही गरिने चेतावनीसमेत दिए । सिद्धिचरणभित्र ४ वटा मोटरेबल पक्की पुल म्याद सकिँदा पनि पूरा भएका छैनन् । ठेकेदारले समयमा काम नगर्दा ठूला आयोजना अलपत्र हुने गरेका छन् । 

 

सिद्धिचरण नगरपालिकाको ऐतिहासिक ठाउँ रुम्जाटार र जिल्ला सदरमुकामलाई छोटो दूरीमा जोड्ने मिलनचोक-सपनावति-रुम्जाटार सडक खण्डको सो पुल बनेपछि आउजाउमा सहज हुनेछ ।