close

सांसदकै ठेक्का अलपत्र, यात्रुलाई जहिल्यै सकस

कहिले सुध्रिएला नाग्म–गमगढी सडक ?

सांसदकै ठेक्का अलपत्र, यात्रुलाई जहिल्यै सकस

कहिले सुध्रिएला नाग्म–गमगढी सडक ?

Trulli
ADVERTISEMENT

मुगु- नाग्म-गमगढी सडक खण्ड स्तरोन्नतिको काम ढिलाइ हुँदा रारा ताल जाने पर्यटकदेखि अन्य यात्रुले सास्ती खेप्नुपरेको छ ।  बर्खामा हिलाम्य र हिउँद धुलाम्य हुने यो सडक खण्डकै कारण रारा पुग्ने पर्यटकसमेत घटेका छन् । रारा यात्राका क्रममा सडकको हालत देख्दा जोसुकैले कर्णाली प्रदेश सरकारको विकासप्रति प्रश्न गर्छन् । सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा वर्षौं यता यात्रुले सास्ती खेप्नुपरे पनि सम्बन्धित निकाय मौन छन् ।


जुम्लाको नाग्मदेखि मुगुको गमगढीसम्म ९३ किलोमिटर मात्र छ । तर, सडक स्तरोन्नतिको काममा निकै ढिलाइ गरिएको छ । कहिले बजेट अभाव त कहिले ठेक्काको काममा ढिलाइको कारण देखाउँदै सडक स्तरोन्नतिमा चासो दिइएको छैन । 


कर्णाली प्रदेश सरकारका सबै मन्त्रीदेखि सांसदहरू यो सडक हुँदै रारा पुगेका छन् । तर, सडकको कन्तबिजोक देख्दा पनि उनीहरू मौन छन् । यस सडक खण्डकै कारण रारा र कर्णाली प्रदेश सरकारबारे पर्यटकले गलत प्रचारसमेत गर्ने गरेका छन् ।


सडक डिभिजन कार्यालय जुम्लाका कायमुकायम डिभिजन प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक स्तरोन्नतिका लागि ठेकेदारलाई छिटो काम गर्न दबाब दिइएको छ । तर, बजेट अभावका कारण समयमै र आवाश्यकताअनुसारको काम गर्न नसकिएको उनको भनाइ छ । 


उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट आए पनि लकडाउनका कारण कार्यालयले १० करोड रुपैयाँ मात्र खर्च गरेको छ । ‘यस वर्ष घटेर नौ करोड ७० लाख रुपैयाँ मात्र बजेट आएको छ’, उनले भने, ‘सडक स्तरोन्नतिको काम पूरा गर्न २३ करोड ५० लाख रुपैयाँ तत्काल आवश्यक छ ।’


नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका सिंजावासी पूर्णप्रसाद धितालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरमा ल्याउन आग्रह गर्दै ठेकेदारहरू नसुध्रिए जनता सडकमा आउने चेतावनी दिए । 


‘नाग्म-गमगढी सडक खण्डमा पर्यटकले दुःख पाउने गरेका छन् । अधुरा कामले स्थानीयको यात्रामा समेत असहज छ’, उनले भने, ‘यो सडक स्तरोन्नतिमा प्रदेश सरकारले पनि चासो दिनुपर्छ । सधैँ केन्द्रकै भर परेर हुँदैन ।’


सांसदकै ठेक्का अलपत्र


नाग्म-गमगढी सडक खण्डमा एक त बजेट कम, भएको बजेटबाट ठेक्काको काम पनि अलपत्र पारिँदा नागरिकले सास्ती पाएका छन् । यतिसम्म कि सांसदकै फर्मबाट काम थालिएको ठेक्का अलपत्र छ । 


सडक खण्डको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै फर्मबाट काम थालिएको थियो ।


तर, ठेक्का सम्झौता अवधिमा काम नहुँदा स्तरोन्नति कार्य अलपत्र छ । सो ठेक्काको काम आधा भएको र यही क्षेत्रमा पर्यटकले दुःख पाएको स्थानीयले पटकपटक गुनासो पोखेका छन् ।

 

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार १३ किलोमिटरमध्ये छ किलोमिटर सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबियन, मेसिनरी टेवा पर्खालको काम सम्पन्न हुन नसकी बीचैमा अलपत्र परेको हो ।


कार्यालयले पटकपटक केठेदार लामालाई कालो सूचीका लागि लिखित चेतावनी दिँदै आएको छ । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हीरा एण्ड नमिता जेभीले लिएको उक्त ठेक्काको पाँच वर्षअघि काम थालिएको थियो । यता, सांसद लामाले आफ्नो फर्म लिएर नन्दलाल श्रेष्ठले काम थालेको र हाल आफूसँग सम्पर्कमा नभएको बताए ।


ठेक्का नम्बर १२ को ८ माघ २०७२ मा भएको सो ठेक्का सम्झौता ७ पुस २०७५ सम्म थियो । दोस्रो पटक १० साउन २०७६ मा सम्झौता भएर ३० जेठ २०७७ सम्म अवधि थपिए पनि काम हुन सकेको छैन । 


१३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


यस्तै, ठेक्का नम्बर ३/१-२०७४/०७५ मा खड्का कृष्ण गाल्भा-द क्याराभान जेभीको राजुसिंह कठायत र तारासिंह कठायतले जिम्मा लिएको नाग्म-गमगढी सडक खण्डको १७ देखि २५ सम्म आठ किलोमिटर सडक स्तरोन्नतिको काम सन्तोषजनक नभएको कार्यालयले जनाएको छ । समयमै काम नगर्ने ठेकेदारहरूलाई कारबाही गर्न जुम्लावासीले माग गरेका छन् ।


विकल्पमा छोटो बाटो


जुम्ला खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ । पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्थे ।

 

पछिल्लो समय खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । यो सडक नाग्म, गमगढी सडकभन्दा झण्डै ३० किलोमिटर छोटो र सहज छ ।


खलङ्गा बजारबाट पातारासी गाउँपालिकाको उर्थु, पटमारा हुँदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै रारा ताल पुग्न सकिने यस सडकमा यात्रा गर्दा मनोरम दृश्य तथा अग्र्यानिक खानाका लागि सहज छ ।


नाग्म-गमगढी सडकभन्दा यस सडकबाट राराताल झण्डै तीन घण्टा छिटो पुगिन्छ । कर्णाली प्रदेश सरकारले यो रारा सडकको स्तरोन्नति गरेको हो । कोरोना कहरले पर्यटक घटे पनि विस्तारै बढ्ने क्रम जारी छ । 


पातारासी गाउँपालिकाका बालक बोहोराले रारा यात्राका लागि यो सडक सहज भएको बताए । उनका अनुसार यस सडकबाट यात्रा गर्दा पाटनमा पर्यटक विभिन्न जडिबुटी, फूलसँग रमाउन पाउँछन् ।

 

साथै पाखापखेरामा पाल हालेर पर्यटक बस्दा निकै रमाइलो हुन्छ । खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हुँदै नाग्म-गमगढी सडकबाट फर्किने गरेको पर्यटकहरू बताउँछन् ।