close

घेर्मुमा जब गाडी पुग्यो... (भिडियाे खबर)

घेर्मुमा जब गाडी पुग्यो... (भिडियाे खबर)

ADVERTISEMENT

लमजुङ- कुनै बेला एउटा गीत सारै चर्चामा थियो- ‘बाटो खुल्यो, मोटर गुड्यो, जुम्ला कालीकोटको ।’ त्यतिखेर जुम्लामा गाडी पुग्दाको हर्ष हरेकले महसुस गरेका थिए । अहिले त्यस्तै सुख लमजुङको मर्स्याङ्दी गाउँपालिकाको घेर्मुवासीले गरिरहेका छन् किनभने यहाँ पनि पहिलो पटक गाडी पुगेको छ । मर्स्याङ्दी नदीमा पहिलो पटक मोटरेबल काठेपुल निर्माण गरेर गाडी पुर्‍याइएको हो ।


लमजुङको विकट गउँ मर्स्याङ्दीको वडा नम्बर- ५ घेर्मुमा पहिलो पटक गाडी पुगेको हो । मर्स्याङ्दीको वडा- ४ स्याँगे र वडा- ५ घेर्मु जोड्न मर्स्याङ्दी नदीमाथि अस्थायी मोटरेबल काठेपुल निर्माण भएपछि घेर्मुमा पहिलो पटक गाडी पुगेको हो । 


पालिकाका अन्य वडामा मोटरबाटो पुगेको वर्षौं भयो तर  वडा- ४ को स्याँगे र वडा- ५ घेर्मु जोड्न मर्स्याङ्दी नदीमा पुल नहँुदा घेर्मुमा अहिलेसम्म मोटर पुग्न सकेको थिएन । बल्ल मोटर पुग्दा स्थानीयमा देखिएको खुसी शब्दमा वर्णन गर्न सकिँदैन । तर, दृश्यले देखाइरहेको छ कि स्थानीय कति खुसी छन् । फूलमालाले स्वागत गरिरहेको यो दृश्य सायदै देख्न पाइएला ।


स्थानीय आशबहादुर गुरुङको खुसीका शब्दले नै भनिरहेका छन् कि गाउँमा गाडीको आवश्यकता कति थियो र छ । आफ्नै घर आँगनमा गाडी गुडेको हेर्ने उनको वर्षौंदेखिको सपना पूरा भएको छ । दशकौँअघिदेखि घेर्मुपारिको सडकमा गाडी गुडेको देख्दा आफ्नो गाउँमा गाडी कहिले आउला भनेर कल्पना गर्दै बसेका आशबहादुर जस्तै थुप्रै अनुहार अहिले पुलकित भएका छन् । गाउँमा गाडी पुगेपछि अब कोही बिरामी भएमा अस्पताल लैजान सहज हुने स्थानीयको भनाइ छ ।


गाउँमा गाडी नपुग्दा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्रीलगायतका सामग्री गाउँ पु¥याउँदा खरिदमा भन्दा ढुवानीमा बढी मूल्य तिर्नुपरेको स्थानीयको भनाइ छ । गाडी नपुग्दा मान्छे लगाएर अथवा खच्चडको सहायतामा सामान ढुवानी गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । समस्या समधान गर्न २ लाख ७८ हजार ६१५ रुपैयाँ लगानीमा अस्थायी काठे पुल निर्माण गरिएको थियो । 


देश, विदेशबाट प्राप्त ४ लाख ६६ हजार रुपैयाँमध्ये २ लाख ७८ हजार पुल निर्माणमा खर्च भएको र बाँकी रकम आगामी वर्ष पुल मर्मतका लागि खर्च गरिनेछ । स्याँगे र घेर्मु जोड्न मर्स्याङ्दी नदीमा पुल निर्माणको आवश्यकता महसुस गरी सहयोग संकलन अभियान संचालन गरिएको स्थानीयको भनाइ छ ।


स्याँगे र घेर्मु जोड्नका लागि मर्स्याङ्दी नदीमा स्थायी पुल निर्माणमा गाउँपालिकाले पहल गरिरहेको छ । चालू आर्थिक वर्षमा पक्की पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट १ करोड ५० लाख रुपैयाँ रकम विनियोजन भइसकेको र यसको डीपीआर पनि सम्पन्न भइसकेको मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ ।


हाल निर्माण गरिएको अस्थायी पुल वर्षाको भेलले बगाउने निश्चित छ । त्यसैले वर्षा अगावै स्थायी पुल निर्माण गर्न सरोकारवालाको ध्यान जान आवश्यक छ । अस्थायी पुलले गाडी त पुर्‍यायो तर निरन्तर गाडी गुडाउनका लागि भने तीनै तहका सरकारको समन्वय टड्कारो देखिन्छ ।