close

८ वटा पिलर बनाउँदा १० लाख स्वाहा !

८ वटा पिलर बनाउँदा १० लाख स्वाहा !

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ४ खलंगामा ३२ वर्षपहिले निर्माण भएको कभर्ड ३० असार २०७५ मा भत्कियो । १ वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको तस्तै रह्यो । 

 

२८ वैशाख २०७६ मा विघटित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरुले ‘डडेल्धुरा सेमिकभर्ड हल’ को शिलान्यास गरिन् । 

 

शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने प्रतिबद्धता जनाएका थिए । 

 

तर, शिलान्यास भएको २१ महिना बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ । उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

 

आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमिकभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकुद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए ।

 

डेढ वर्षभित्र उक्त सेमिकर्भड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढे पनि आर्थिक अभावले काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ । 

 

१० लाखमा ८ पिलर निर्माण 

 

राष्ट्रिय खेलकुद परिषदबाट सेमिकभर्ड हलका लागि तत्काल १० लाख रुपैयाँ निकासा गरिएको थियो । तर, त्यो रकमले कभर्ड हल निर्माणका लागि ८ वटा पिलर मात्रै ठडिएका छन् । 

 

राष्ट्रिय खेलकुद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलका सामग्री सार्न र वाल संकेत निर्माण गरिएकाले ८ वटा पिलर मात्रै ठडिएको खेलकुद विकास समिति डडेल्धुराले जनाएको छ । 

 

कभर्ड हल निर्माणका लागि ८ वटा पिलर मात्रै हालिएको एवं अन्य कार्य नभएकाले क्रमागत रूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण निकासा नहुँदा निर्माणमा समस्या भएको प्रमुख भण्डारीको तर्क छ ।

 

‘राखेपबाट बजेट निकासा भएको छैन । गत वर्ष राखेपबाटै स्वीकृत भएर बजेट निकासा भएको थियो । तर, अहिले निकासा भएको छैन । सोही कारण निर्माण अलपत्र छ,’ उनले भने, ‘२ रोपनी जग्गामा ८ वटा पिलरसहित फाउन्डेसन भएको छ । बजेटको खोजीमा छौँ ।’

 

के गर्दै छ अमरगढी ?

 

देश संघीयतामा गएसँगै स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकुद गतिविधि सञ्चालन गर्नुपर्छ । तर, कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन । 

 

अमरगढीले खेलकुद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रमी युवाको गुनासो छ । तर, नगरपालिकाले आर्थिक अभावका कारण सेमिकभर्ड हल निर्माण अलपत्र परेको बताएको छ । 

 

कभर्ड हल अहिले नै बन्न सक्छ भन्ने अवस्था नभएको अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझा सुनाउँछन् । प्रस्ताव पेस गरेको र स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनको दाबी छ ।

 

‘जनताका आवश्यकता असीमित छन् । स्रोत-साधनको कमी छ । संघीय सरकाले केही बजेट विनियोजन गरेको थियो । हामीले काम अगाडि बढाएका थियौँ,’ उनले भने, ‘यो वर्ष पनि कभर्ड हल निर्माणका लागि संघीय सरकारलाई नै प्रस्ताव पेस गरेका छौँ ।’

 

जिल्लाको एक मात्र कर्भड हल भत्किँदा इन्डोर खेलकुदका कार्यक्रमसमेत प्रभावित बनेका छन् । इन्डोर खेलका लागि हलको प्रयोग हुने हुँदा आजभोलि जिल्लामा खेलकुद गतिविधि शून्य छ । 

 

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेलहरू बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कर्भड हल आवश्यक पर्छ ।