close

मध्यबिन्दुका २ वटा वडा जोड्न गिरुवारी खोलामा पुल निर्माण सम्झौता

मध्यबिन्दुका २ वटा वडा जोड्न गिरुवारी खोलामा पुल निर्माण सम्झौता

Trulli
ADVERTISEMENT

नवलपरासी- पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ७ र १३ नम्बर वडा जोड्ने पक्की पुल निर्माण हुने भएको छ । यसका लागि सम्झौता भएको मध्यबिन्दु नगरपालिकाले जनाएको छ । 

 

गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ स्थित गिरुवारी खोलामा पक्की पुल निर्माण हुन लागेको नगरपालिकाको वडा नम्बर १३ का वडाध्यक्ष अर्जुन पंगेनीले बताए । 


गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत विनियोजित १४ करोड २६ लाख रुपैयाँ बजेटमा गिरुवारी खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

 

हिमढुंगा एन्ड ठोकर कम्पनी प्रालिसँग २१ महिनामा निर्माण सम्पन्न गर्ने गरी पुलको ठेक्का सम्झौता भएको छ । 


मध्यबिन्दुको वडा नम्बर ७ तोरीबारी र मध्यबिन्दुको वडा नम्बर १३ मौनाघाट जोड्ने पक्की पुल १ सय ४५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पुल निर्माण भएपछि मध्यबिन्दुको वडा नम्बर १३ सहित वडा नम्बर ९, १४ र जिल्लाका पहाडी क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । 

 

चोरमारा हँुदै जिल्लाको पहाडी क्षेत्र र पूर्वी पाल्पासम्म पुग्ने गरी नियमित यातायात सञ्चालनको समेत बाटो खुल्ने वडा नम्बर १३ का वडाध्यक्ष अर्जुन पंगेनीले जानकारी दिए । 

 

गिरुवारी खोला उत्तरतर्फ रहेका मोहनडाँडा चपाहा, मोटेखोल्सी, छाप्रादी, भेडाबारीका बासिन्दालाई मौनाघाट हुँदै यात्रा गर्न सहज हुने स्थानीय समाल ठकुरीले बताए । 

 

उक्त क्षेत्रमा अहिले झोलुंगे पुल मात्र छ । ३ वर्ष अगाडि खोलामा झोलुंगे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयलाई केही सहज भए पनि सानाठूला सवारी बर्खाको समयमा आउजाउ गर्न कठिनाइ हुँदै आएका छ । 

 

बर्खाको समय ३ महिना मैनाघाट क्षेत्रमा सवारी लैजान सक्ने अवस्था नहुने चोरमारा-मैनाघाटका स्थानीय सन्त कुमालले बताए । पुल नहुँदा बर्खाको समयमा यस क्षेत्रका स्थानीय बिरामी हुँदा एम्बुलेन्स सेवा उपयोग गर्नसमेत सक्दैनन् । 

 

गिरुवारी खोलामा पक्की पुल निर्माण भएपछि मौनाघाटसहित आसपासको क्षेत्रमा विकास निर्माणले गति लिने विश्वास स्थानीयको छ । विद्यालय तथा उच्च शिक्षाका लागि बर्खाको समय चोरमारामा डेरा लिएर बस्नुपर्ने बाध्यता हट्नेदेखि शिक्षा, स्वास्थ्य र सडकको स्तरोन्नति हुने वडाध्यक्ष पंगेनीले बताए । 

 

मध्यबिन्दुको वडा नम्बर १३ मा अहिले ठूला, मझौला तथा साना कृषि फार्म सञ्चालनमा छन् । ती फार्ममा उत्पादित कृषि उत्पादनको बजारीकरण, आवश्यक सामग्रीको ढुवानीमा पुल नहुँदा समस्या हुँदै आएको वडा नम्बर १३ का कृषक पाण्डव खनालले सुनाए । 

 

पुल निर्माणका लागि अहिले छडसहित आवश्यक निर्माण सामग्री निर्माण स्थल पु¥याउने काम भइरहेको वडाध्यक्ष पंगेनीले जानकारी दिए ।