close

गुनामका बस्तीमा बाह्रैमास खानेपानीको पहुँच 

कम बजेट तर समयमै योजना सम्पन्न

गुनामका बस्तीमा बाह्रैमास खानेपानीको पहुँच 

कम बजेट तर समयमै योजना सम्पन्न

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ गुनाममा एक घर एक धारा कार्यक्रममार्फत खानेपानी पुर्‍याइको छ ।

 

जिल्लामै पहिलो पटक ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा एक घर एक धारा खानेपानीको पहुँच पुगेको हो । 

 

सरकारले सञ्चालन गरेका विकासे योजना गुणस्तरीय मापदण्ड लागू नगरेर सम्पन्न गरिने हुँदा गुनाममा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले आधुनिक प्रविधि जडान गरेर निर्माण गरेको खानेपानी योजना दिगो रहेको स्थानीय बताउँछन् । 

 

निर्माण गरिएको खानेपानी आयोजना कम्तीमा ३०-४० वर्षसम्म स-सानो मर्मतबाहेक अरू समस्या नआउने ट्रस्टका खानेपानी योजना म्यानेजर वीरबहादुर पुन मगरले जानकारी दिए ।

 

मूल ड्याममा सबै पानीलाई संकलन गरी ढलान गरेर पानीलाई फोहोरबाट सुरक्षित गर्न विशेष विधिबाट दुबो घाँस रोपिएको उनले बताए । यसले गर्दा भल आए पनि पानी संग्लो हुने प्रविधि जडान गरिएको उनको भनाइ छ । 

खानेपानीको दिगोपनाका लागि मूल ड्याम र रिजर्भ ट्यांकीको सुरक्षाका लागि कंक्रिट खम्बा निर्माण गरी तारबार गरिएको छ । यसैगरी हरेक पाइपलाई ३ फुट गहिराइमा गाडिएको छ । रिजर्भ ट्यांकीबाट सबै धारामा समान पानीको बहाव बग्ने विधि अपनाइएको छ । 

 

ट्रस्टको आर्थिक र प्राविधिक सहयोगको योजना गुणस्तरीय र दिगोपना हुने देखिएको जिल्ला समन्वय समितिका सदस्य धनीमान बुढा मगरले बताए ।

 

सरकारको आर्थिक लगानी धेरै हुने तर योजना निर्माणको गुणस्तर कमजोर हुने भएकाले यहाँका प्राविधिकले पनि यो विधि अपनाउन् भनेर ट्रस्टबाट गुनाममा एक घर एक धारा योजना निर्माणको पहल गरेको समन्वय सदस्य बुढाले जानकारी दिए । 

 

कम बजेट र समयमै योजना सम्पन्न


१ सय १३ घरधुरी रहेको गुनाम गाउँमा नगद ८९ लाख ९२ हजार र जनश्रमदान ३८ लाख ९८ हजार गरी १ करोड २८ लाख ९० हजार रुपैयाँ लगानीमा उक्त खानेपानी योजना निर्माण गरिएको हो ।

 

हरेक उपभोक्ताले ८३ देखि १ सय ५ दिनसम्मको श्रमदान गरेर ३ महिनामै योजना निर्माण गरेका हुन् । खानेपानीको योजना स्थलगत अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले पूर्ण रूपमा दिगोपना र गुणस्तरीय योजना निर्माण भएको प्रतिक्रिया दिए ।

 

ब्रिटिस संस्थाले निर्माण गरेको योजना उदाहरणीय भएकाले यसलाई फलो गरेर काम गर्न सके लगानीको टिकाउपना हुने देखिएको अध्यक्ष बुढा बताउँछन् । अबको योजनामा वडा नम्बर २ को खाबाङ, ३ को झुम्लाबाङ, क्याङ्सी, वडा नम्बर ७ को धर्मशाला, लाबाङ, भित्रवनमा उक्त योजना लागू गरिनेछ ।