close

चट्टानी भीर छिचोलेर दुर्गम बस्तीतिर सोझिएको एउटा सडक

चट्टानी भीर छिचोलेर दुर्गम बस्तीतिर सोझिएको एउटा सडक

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- लुम्बिनी प्रदेशकै दुर्गम बस्ती रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो भेगमा पहिलो पटक सडक पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन् । पुथाउत्तरगंगा वडा नम्बर ६ डिम्मुरगैरा गाउँमा पहिलो पटक मंगलबार सडक पुगेपछि स्थानीयले खुसीयाली मनाएका हुन् । 

 

दुर्गम पुथाउत्तरगंगाको वडा नम्बर १, ६ र ९ नम्बर वडा सहिद मार्गको पहुँचमा पुगेका हुन् । पुथाउत्तरगंगाको वडा नम्बर १३ नयाँबजारदेखि ६ किलोमिटर चट्टानका भीरलाई छिचोल्दै १ वर्षमा डिम्मुरगैरा बस्तीमा सडक पुर्‍याइएको निर्माण व्यवसायी सब-कन्ट्याक्टर मगर खाम कन्स्ट्रक्सन प्रालिका सञ्चालक कमई घर्ती मगरले बताए ।

 

दुर्गम बस्तीलाई सडक सञ्जालमा जोडिने लक्ष्यका साथ डोजर अपरेटरले चट्टानका भीरमा जोखिम मोलेरै मंगलबार डिम्मुरगैरा बस्तीमा सडक पुर्‍याएको सञ्चालक घर्तीले जानकारी दिए । 

 

दुर्गम बस्तीमा सडक पुगेपछि पुथाका माथिल्लो भेगका बासिन्दाले निर्माण व्यवसायी र डोजर अपरेटरलाई अबीर, मालासहित नाचगान गरेर खुसीयाली मनाएको स्थानीय नवीनकुमार रोका मगरले बताए । 

 

३ वर्ष पहिले ठेक्का लिएको कोसी न्यौपाने कम्पनीले आन्तरिक समस्या देखाई सहिदमार्गको योजना अलपत्र पारेको थियो । कोसी न्यौपाने कम्पनीले आफ्नो स्वामित्वको काम गर्न नसकेपछि सप्तकोसी जलाधार निर्माण कम्पनी प्रालिले खरिद गरेको हो ।

 

सप्तकोसीले ट्रयाक खोलिएको ठाउँलाई डबल कटान गरिरहेको छ । सप्तकोसीबाट सबकन्ट्याक्ट्ररमा मगर खाम कन्स्ट्रक्सन प्रालिले गत वर्षदेखि नयाँ ट्रयाक खोल्ने जिम्मा लिएको छ । 

 

आउँदो असारसम्म पुथाको वडा नम्बर १३ नयाँबजारदेखि वडा नम्बर ५ हुकामको रिसलाडाँडासम्मको १२ किलोमिटर सडक खोल्ने जिम्मा पाएको घर्तीको भनाइ छ । हाल नयाँबजारदेखि डिम्मुरगैरासम्मको चट्टानी भीर छिचोलेर ६ किलोमिटर सडक खनिएको छ । डिम्मुरगैरादेखि वडा नम्बर ५ हुकामको रिसलाडाँडासम्म ६ किलोमिटर सडक खोलिनेछ । 

 

त्रिदेशीय मार्गका रूपमा जोड्ने लक्ष्य


भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीको मध्यपहाडी लोकमार्ग हुँदै पुथाको तकसेरा-विर्गुम-नयाँबजारसम्म सडक पुगेको छ । ओख्मा नयाँबजारदेखि पुथाको वडा नम्बर ६, ५, हुँदै १ को मैकोट भएर डोल्पा सहरतारासँग जोडिनेछ ।

 

हुकामदेखि मैकोट भएर डोल्पासँग जोडिन हाल डिपिआरको काम भइरहेको प्रतिनिधिसभा सदस्य कमला रोका मगरले बताइन् । दुर्गम बस्तीलाई छिट्टै सडकको पहुँचमा जोड्न डिपिआरको काम सम्पन्न हुनासाथ बोलपत्र आह्वान गरेर डोल्पासँग जोड्ने सांसद रोकाको भनाइ छ । 

 

कोइलाबास-लमही-दाङ-रोल्पा-रुकुम पूर्व-डोल्पा-चीनसँग जोडिएमा त्रिदेशीय रणनीतिक महत्त्वपूर्ण सहिद मार्ग हुने सांसद रोकाले बताइन् । यसले गर्दा हाल दुर्गम रहेको गाउँपालिकामा व्यापार व्यवसाय फस्टाई सुगमतर्फ अग्रसर हुने रोकाको विश्वास छ । 

 

हाल हिउँदे याममा पुथाउत्तरगंगाको वडा नम्बर १० तकसेरा हुँदै भूमे गाउँपालिका र अन्तरजिल्ला थबाङ रोल्पा भएर दाङसम्म दैनिक गाडी सञ्चालन भइरहेको छ ।