close

गाउँपालिकाले सिफारिस अड्क्याउँदा गर्भवती महिलाले गुमाइन् ज्यान

गाउँपालिकाले सिफारिस अड्क्याउँदा गर्भवती महिलाले गुमाइन् ज्यान

Trulli
ADVERTISEMENT

हुम्ला- हवाई उद्धारका लागि हुम्लाको चंखेली गाउँपालिकाले समयमा सिफारिस नदिँदा १ जना महिलाको अकालमा ज्यान गएको छ । गत ३ दिनदेखि प्रसव पीडामा रहेकी चंखेली वडा नम्बर ५ नेप्का गाउँकी ३७ वर्षीया बेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लैजाने तयारी थियो ।

 

तर, गाउँपालिकाले आवश्यक सिफारिस दिन ढिलाइ भएपछि उनले घरमै ज्यान गुमाउनुपरेको स्थानीय मदन तामाङले बताए । 

 

‘गाउँमा उपचार नहुने भएपछि हामीले उहाँलाई थप उपचारका लागि सुर्खेत ल्याउने योजनाअनुसार विभिन्न निकायमा खबर गर्‍याैं ,’ तामाङले भने, ‘गाउँपालिका अध्यक्षको फोन अफ भएको र अन्य कर्मचारी सम्पर्कमा नआएका कारण राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रक्रियामा भएको ढिलाइका कारण हेलिकोप्टर नउड्दै गाउँमा उहाँको ज्यान गयो ।’
 
उनका अनुसार स्थानीय नेप्का आधारभूत स्वास्थ्य केन्द्रले आउँदो वैशाख दोस्रो साता अन्तिम डेलिभरी मिति दिए पनि तामाङलाई ३ दिन अगाडिदेखि प्रसव पीडा सुरु भएपछि घरमै राखेर सामान्य उपचार गरिएको थियो ।

 

तामाङको स्वास्थ्य अवस्था नाजुक भएको खबर पाउनेबित्तिकै आफूले हवाई उद्धारका लागि पहल गरे पनि समयमा गाउँपालिकाको सिफारिस नआएका कारण ज्यान बचाउन नसकेको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

 

कार्यालयको कामले कर्णाली प्रदेश राजधानी सुर्खेतमै रहेका सिंहले भने, ‘३ दिन अगाडिको केस रहेछ । हामीलाई आइतबार बिहान मात्रै खबर आयो ।’

 

खबर आउनेबित्तिकै आफूले जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति महिला उद्धार कार्यक्रममा समेत समन्वय गरेको बताएको सिंहले सुनाए । उनले भने, ‘सुरुमा उद्धार गरिने महिला भएको सम्बन्धित गाउँपालिकाको सिफारिस र निर्णय नभए नेपाली सेनाको हेलिकोप्टर पठाउन नसकिने प्रक्रियागत झन्झटले चंखेली गाउँपालिकाको सिफारिस आउन ढिला गरेकाले महिलालाई बचाउन सकिएन ।’

 

हवाई उद्धारका लागि राष्ट्रपति उद्धार कार्यक्रमले स्थानीय तहको पुष्ट्याइँ नभई स्वीकृत नगर्ने भएकाले पनि समस्या हुने गरेको जनस्वास्थ्य अधिकृत सिंहले स्वीकारे । अकाल मृत्यु भएकी तामाङका ५ छोरा र श्रीमान छन् ।