close

देवचुलीमा नगर चक्रपथ निर्माण धमाधम 

देवचुलीमा नगर चक्रपथ निर्माण धमाधम 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको देवचुली नगरपालिका नगर चक्रपथ निर्माणमा जुटेको छ । देवचुलीभित्रका १७ वटै वडालाई सडक सञ्जालमा जोड्न र नगर चक्रपथभित्र सवारी गुडाउने गरी नगरपालिकाले चक्रपथ निर्माणको परिकल्पना अगाडि सारेको हो ।

 

साविकका ४ वटा गाविस जोडेर बनेको देवचुलीका यतिबेला नगर चक्रपथ निर्माणमा जुटेको छ । नगरपालिकाभित्र रहेका १७ मध्ये १५ वटालाई प्रत्यक्ष रूपमा छुने गरी र बाँकी २ वटा वडा नगर चक्रपथभित्र पर्ने गरी देवचुलीले नगर चक्रपथ निर्माण गरेको हो । 

 

गत वर्षदेखि काम थालेको नगरपालिकाले अहिलेसम्म नगर चक्रपथ निर्माणको ४० प्रतिशत काम सकेको नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए । 

 

नगर चक्रपथ निर्माण भए पनि एउटा वडाका बासिन्दा अर्को वडासम्म सजिलै सार्वजनिक यातायातमा समेत जान सक्ने भएकाले यसले देवचुलीसीलाई लाभ मिल्ने अपेक्षा नगर जनप्रतिनिधिको छ । 

 

दोहोरो सवारी साधन सजिलै हिँड्न मिल्ने गरी १० किलोमिटर चौडाइको ३५ दशमलव ७ किलोमिटर लामो नगर चक्रपथ निर्माण हुने नगरपालिकाको डिपिआरमा उल्लेख छ ।

 

नगरपालिकाले एकै पटक नगर चक्रपथ निर्माण गर्न नसक्ने सम्भावना भए पनि खण्ड-खण्ड गरेर नगर चक्रपथ निर्माण गरेको छ । कतिपय स्थानमा वडामा गएको बजेटबाट नगर चक्रपथ निर्माणमा लगानी भएको छ भने कतिपय क्षेत्रमा नगरपालिकाको सोझै बजेट प्रयोग गरिएको छ । 

 

गत वर्ष वडा नम्बर ९ मा ४० लाख रुपैयाँ खर्चेर नगर चक्रपथ निर्माण सुरु गरिएको थियो भने यस वर्ष देवचुली नगरपालिकाको वडा नम्बर ५, १३, १७ र १ मा निर्माण चलिरहेको छ ।


नगरले तत्काल चक्रपथभित्र परेका सबै बाटो पक्की गर्न नसके पनि आगामी एक वर्षभित्र ग्राभेल र पक्की गरी सार्वजनिक सवारी साधन चलाउने लक्ष्यसहित निर्माण कार्य अगाडि बढाएको नगरपालिकाका पूर्वाधार शाखा प्रमुख टीकाराम बस्याल बताउँछन् ।

 

नगर चक्रपथ निर्माणका लागि संघीय सरकारले डिपिआर तयार गरिदिने र नगर यसभित्र पर्ने वडा नम्बर १२ मा पर्ने बौलाहा खोलामा पुनर्निर्माण प्राधिकरणको सहयोगमा पक्की पुल निर्माणबाहेक अन्य काममा नगरलाई आर्थिक सहयोग जुटेको छैन ।

 

त्यसो त नगरपालिकाले संघीय सरकारसँग नगर चक्रपथ निर्माणका लागि यस वर्ष १० करोड रुपैयाँ बजेट मागेको छ । संघीय र प्रदेश सरकारबाट पर्याप्त रकम आए आगामी आर्थिक वर्षमै नगर चक्रपथभित्रका सबै सडक सञ्जाल पक्की गराउने लक्ष्य लिइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

 

‘कहीँ-कतैबाट सहयोग नभए पनि नगरपालिकाले आफ्नै बजेटबाटै ढिलो-चाँडो नगर चक्रपथका सबै सडक पक्की बनाउने योजना छ’, श्रेष्ठले भने, ‘आफ्ना सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी नगर चक्रपथ निर्माण गर्नु खुसीको कुरा हो । नगरको बजेटले मात्र यो काम सक्न गाह्रो छ । स्रोत खोजिरहेका छौँ ।’

 

देवचुलीको महत्त्वाकांक्षी योजनाभित्र पर्ने नगर चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारले चासो नदिएको उनको गुनासो छ ।