close

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड : म्याद सकिनै लाग्दा कालोपत्रे धमाधम

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड : म्याद सकिनै लाग्दा कालोपत्रे धमाधम

Trulli
ADVERTISEMENT

बागलुङ– निर्माण कम्पनीले पाएको समयावधि सकिनै लाग्दा मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कामले गति लिएको छ । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको हो ।

 

जेठ लागेपछि उपल्लाचौर–घोडाबाँधे खण्डमा कालोपत्रे गर्न थालिएको हो । निषेधाज्ञाको समयसमेत आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई कामलाई निरन्तरता दिइएको निर्माण कम्पनीले जनाएको छ । 

 

बागलुङ–अक्षते र अक्षते–घोडाबाँधे खण्ड कालोपत्रेका लागि आयोजनाले निर्माण कम्पनीलाई दिएको समय आउँदो असारमा सकिँदै छ । लोकमार्ग बिहुँ–घोडाबाँधे खण्डको गणेश घुम्तीदेखि प्रहरी चौकीसम्म करिब ८ सय मिटर सडक कालोपत्रे गरिएको हो । बाँकी खण्डमामा सडक संरचनाको काम जारी छ । 

 

अक्षतेदेखि घोडाबाँधेसम्मको १२ किमि सडक कालोपत्रेको जिम्मेवारी एमपी, एससीएफ, इसिसीले लिएको छ । असार मसान्तसम्म घोडाबाँधेदेखि सदरमुकामतर्फको साढे ७ किमि सडक कालोपत्रे हुने निर्माण कम्पनीका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए ।

 

उपल्लाचौरदेखि घोडाबाँधेसम्म २५ किमि सडक कालोपत्रे गर्न बाँकी थियो । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले उपल्लाचौरदेखि अक्षते र अक्षतेदेखि घोडाबाँधेसम्मको सडकलाई २ खण्डमा विभाजन गरी कालोपत्रेको ठेक्का दिएको थियो । 

 

उपल्लचौरदेखि अक्षते खण्डमा पनि सव–बेस, बेस, नाली तथा ग्राभेलको काम चलिरहेको भरत–सिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजर शिव लामिछानेले बताए । मौसम अनुकूल भए ८ आठ किमि सडक कालोपत्रे हुने लामिछानेको भनाइ छ ।

 

हाडेपाखादेखि बोक्सेसम्मको सडक कालोपत्रेको तयारी अवस्थामा छ । खहरे क्षेत्रको पहरो कटानको काम अन्तिम चरणमा पुगेको हुँदा अन्य क्षेत्रको संरचना निर्माण गर्न समस्या नभएको लामिछानेले बताए । कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थ खहरेमा स्थापित क्रसर उद्योगले उत्पादन गरेको छ । 

 

दुवै खण्डका ठेकेदारले गत २१ मंसिरमा जिल्ला प्रशासन कार्यालयमा जेठभित्र कालेपत्रे सक्ने गरी काम गर्ने लिखित प्रतिबद्धता गरेका थिए । लिखित प्रतिबद्धताअनुसार काम सम्पन्न नभए पनि कालोपत्रे हुने आशा बढेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए । दुवै खण्डका निर्माणको कामले गति लिएको उनले भनाइ छ । 

 

लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किमि पर्छ । यसमध्ये ४६ किमि मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजना कार्यालय पर्वतले बताएको छ ।