close

वातावरणीय परीक्षण नहुँदा रोकियो ढोर जाने बाटोको ट्रयाक

वातावरणीय परीक्षण नहुँदा रोकियो ढोर जाने बाटोको ट्रयाक

Trulli
ADVERTISEMENT

बागलुङ– सालझन्डी–ढोरपाटनको विकल्पको रूपमा निर्माणाधीन अर्को सडक प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) नहुँदा ट्रयाक खोल्ने काम रोकिएको
छ । ढोरपाटन नगरपालिका वडा नम्बर ५ को गादीखोलादेखि वडा नम्बर ६ को तोगाडी छेन्टुङ हुँदै वडा नम्बर ९ को ढोरपाटन आरक्ष पुग्ने २० किमि सडकको माथिल्लो खण्डको निर्माण रोकिएको हो । 

 

अहिलेसम्म यो सडकको झन्डै १७ किमि ट्रयाक खुलिसकेको छ । आरक्ष क्षेत्रभित्र पर्ने ट्रयाकका लागि आइइई नभएर काम रोकिएको पूर्वाधार कार्यालय बागलुङका उक्त सडक खण्ड हेर्ने इन्जिनियर प्रकाश श्रीषले बताए ।

 

‘आइइई रिपोर्ट नभएसम्म ट्रयाक खोल्न पाइँदैन । बाँकी स्थानमा ग्राभेल र कालोपत्रेको कामसमेतलाई ठेक्का भइसके पनि काम अगाडि बढेन,’ श्रीषले भने, ‘कालोपत्रे भइसक्यो भने पनि देउराली खण्डमा ट्रयाक खोल्न नपाएपछि उपयोगविहीन बन्नेछ ।’ 

 

चालू वर्ष पनि यो सडकको तल्लो १० किमि खण्डमा काम भइरहेको छ । तल्लो खण्ड कालोपत्रेका लागि ठेक्कासमेत गइसकेको हो । श्रेष्ठ ग्लाल्बो क्याराभान संयुक्त निर्माण कम्पनीले एक वर्षअघि नै सम्झौता गरेर आधा काम सकाइसकेको छ ।

 

२५ करोड २६ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको ठेकेदार कम्पनीले असारसम्म ग्राभेल गरिसक्ने लक्ष्य राखेको छ । सम्झौता अवधिभित्रै कालोपत्रे गरिसक्ने योजना रहेको कम्पनीका इञ्जिनियर श्याम भण्डारीले जानकारी दिए ।

 

माथिल्लो १० किमिमध्ये ७ किमि खण्डमा ठेक्का भएर काम सुरु भएको छ । यो सडकले ढोरपाटन आरक्षको छेन्टुङ हुँदै म्याग्दीको गुर्जालाई जोड्नेछ । यो सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र पूर्वाधार विकास कार्यक्रमको संयुक्त बजेटबाट चालू वर्ष ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रममा सूचीकृत भएर माथिल्लो खण्डमा काम भएको उपभोक्ता शेरमान बुढामगरले बताए । स्थानीयले पनि सडक निर्माणमा सहजीकरण गरिरहेका छन् । वातावरणीय प्रभाव मूल्यांकनको प्राविधिक काममा पूर्वाधार कार्यालय वा मन्त्रालयकै चासो हुनुपर्ने उनले बताए ।

 

‘हामीले हरेक क्षेत्रमा साथ दिएका छौँ तर प्राविधिक कुरा जान्दैनौँ,’ बुढामगरले भने, ‘करोडौँ लगानी भइसक्यो । अन्तिममा ट्रयाक खुलेन भने यो वैकल्पिक सडक बन्नै सक्दैन ।’ बुढामगर खर्सुबोट स्टिल ट्रस्ट पुल निर्माण समितिका अध्यक्षसमेत हुन् । उनको अगुवाइमा गादीखोलामा पुल निर्माण भइरहेको छ ।

 

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेल आवश्यक भएको स्थानमा आइइई हुनुपर्ने बताउँछन् । केही कारणले ढिला भए पनि आगामी वर्ष काम सुरु हुने उनको भनाइ छ ।

 

‘आइइई मन्त्रालयले मात्रै गर्नुपर्छ भन्ने छैन । स्थानीय पालिकाले पनि गर्न सक्छ,’ पौडेलले भने, ‘पत्राचार भएर मन्त्रालयबाट गर्नुपर्ने सर्त भए पनि काम सकिँदासम्म गाँठो फुक्ने काम हुन्छ ।’ व्न मन्त्रालयसँगको सहकार्यमा गरिने काम भएकाले समन्वयको क्रममा रहेको उनले सुनाए ।

 

ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल संवेदनशील क्षेत्र भएकाले समन्वयमा आइइई हुनुपर्नेमा जोड दिन्छन् । ‘सडक निर्माण गर्दा वन्यजन्तुको बाटो नपार्ने, उनीहरूलाई तनाव नपर्ने क्षेत्र रोज्नुपर्छ,’ कँडेलले भने, ‘आरक्षभित्र पक्की सडक भए पर्यटकसमेत बढ्ने देखिन्छ ।’

 

मुख्य गन्तव्यसम्म पक्की सडक चाहिएकाले पूर्वाधारका काममा सहजीकरण गर्ने उनले बताए । आरक्षको अधिकांश क्षेत्रमा पैदल यात्रा गर्नुपर्दा घुमफिरमा आएका पर्यटक पनि हिँड्न नसकेर फर्केकाले सहज सडक बनाउन मन्त्रालयसँग समन्वयमा ध्यान दिइएको उनले जानकारी दिए ।