close

बांगेचौर आधुनिक खेल मैदान स्तरोन्नति हुँदै 

बांगेचौर आधुनिक खेल मैदान स्तरोन्नति हुँदै 

Trulli
ADVERTISEMENT

बागलुङ- सदरमुकाम बागलुङ बजार नजिकै रहेको बांगेचौर खेल मैदानको स्तरोन्नति हुने भएको छ । आधुनिक खेल मैदान निर्माणका लागि संघीय, प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारीमा लगानी गर्न थालेका हुन् ।

 

आगामी आर्थिक वर्षमा स्तरोन्नति गर्ने गरी संघीय सरकारले १ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ । सह–लगानीका लागि संघीय सरकारले बजेट उपलब्ध गराएपछि बागलुङ नगरपालिकाले समपुरक कोषबाट थप १ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

 

‘३ वर्ष पहिलेदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो । सोहीअनुसारको काम गर्न बजेट व्यवस्था भएको छ,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘अहिले डिपिआरअनुसार सबै काम सक्न ११ करोड रुपैयाँ खर्च हुन्छ तर हामी प्रारम्भीक काम गर्दै छौँ ।’ 

 

१० करोड रुपैयाँमा खेल मैदान स्तरोन्नति गर्ने प्रस्ताव योजना आयोगमा पुगेको भए पनि तत्कालका लागि संघीय सरकारले १ करोड ७१ लाख रुपैयाँ मात्रै स्वीकृत गरेको पौडेलले बताए । बांगेचौर खेल मैदान निर्माणका लागि ३ करोड ४२ लाख रुपैयाँ आगामी आर्थिक वर्षमा खर्च हुनेछ । स्टेडियम, नाली, मैदानमा दुबो लगाउनेलगायत काम हुने नगरपालिकाले जनाएको छ । ‘यस पटक सडकको मापदण्ड छाडेर मैदान स्तरोन्नति हुन्छ,’ पौडेल भन्छन्, ‘मैदानको पूर्वी भूभागमा स्टेडियम बनाउने तयारी छ ।’ 

 

जिल्लाभर राष्ट्रिय मापदण्ड पुग्ने खालको सुविधासम्पन्न खेल मैदान नभएका कारण खेलकुदका गतिविधि प्रभावित हुँदै आएका छन् । बांगेचौर खेल मैदान तयार भएपछि खेलकुदका गतिविधि बढ्ने पौडेलको विश्वास छ । नगरपालिकाले आगामि आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा मात्रै ४ करोड ३६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 


युवा तथा खेलकुद विकासका लागि मेयर कप फुटबल, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र अन्य खेलकुद गतिविधिका लागि ९३ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ । खेल क्षेत्रलाई समेत विकासको आधार मानेर यस वर्षको बजेटमा खेलकुद क्षेत्रका लागि बजेट विनियोजन भएको उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । 

 

नगरभित्रका अन्य खेल मैदानको समेत स्तरोन्नति गर्ने कार्यक्रम नगरले बनाएको छ । खेलका गतिविधि सञ्चालनमा सहयोग, खेलाडीलाई सम्मान तथा पुरस्कारका कार्यक्रम र खेल प्रशिक्षणका लागिसमेत नगरले नीति बनाएर काम गर्ने नगरप्रमुख पौडेलले बताए ।