close

राष्ट्रिय गौरवको सोलु करिडोर प्रसारण आयोजना

अवरोध स्थल मरुवामा सुरक्षाकर्मी लगाएरै थालियो ३ वर्षदेखि रोकिएको काम

राष्ट्रिय गौरवको सोलु करिडोर प्रसारण आयोजना

अवरोध स्थल मरुवामा सुरक्षाकर्मी लगाएरै थालियो ३ वर्षदेखि रोकिएको काम

Trulli
ADVERTISEMENT

उदयपुर– निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको उदयपुर कटारी नगरपालिका क्षेत्रमा ३ वर्षदेखि रोकिएको काम सुरु भएको छ । 

 

कटारी नगरपालिका वडा नम्बर ४, मरुवास्थित मरुवा हरित सामुदायिक वन उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी बुधबारबाट काम सुरु गरेको हो । 

 

मरुवाका स्थानीयले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्याउँदै आएकामा जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण अवरोध गर्न नपाउने भन्दै आयोजना सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

 

स्थानीयबाट हुलदंगा हुन सक्ने आशंकामा आयोजनाको सुरक्षार्थ मरुवा माध्यमिक विद्यालय मरुवामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ३ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरी आयोजनाको अवरुद्ध काम अघि बढाइएको हो ।

 

आयोजना सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहराले पुष्टि गरे । 

 

३ वर्षअघि नै बनिसक्नुपर्ने आयोजना स्थानीयको अवरोधका कारण निर्माण हुन सकेको थिएन । स्थानीयको अवरोधपछि आयोजनाको काम ३ वर्षदेखि त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

 

स्थानीयको अवरोधपछि सोलु करिडोरको छैटौँ पटक म्याद थप गरिएको छ । अहिलेसम्म ३०२ वटा टावर बनाइसक्नुपर्ने भए पनि २९२ वटा मात्रै निर्माण गरिएको छ । 

 

सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनाले पुनः छैटौँ पटक म्याद थपका लागि फाइल अघि बढाएको हो । सन् २०२१ मेमा काम सक्ने सर्तमा पाँचौँ पटक म्याद थप गरेको आयोजनाले पुनः ३ महिनाका लागि समय थप्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

 

आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको अवरोधका कारण समयमै सम्पन्न हुन नसकेको हो ।

 

सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटा मात्रै फाउन्डेसनको काम सकिएको आयोजनाले जनाएको छ ।

 

आयोजना प्रमुख गौतमका अनुसार अन्य १० वटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयले अवरोध गरेका छन् ।  उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ ।

 

सिराहादेखि सोलुसम्मको ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ७० किलोमिटरमा तार टाँगिएको छ । बाँकी २० किलोमिटर स्थानीयको अवरोध हुने क्षेत्रभित्र पर्छ । 

 

सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ । सो प्रसारण लाइन निर्माणपछि सोलुखुम्बु एवं आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रि«य प्रसारण लाइनमा जोड्ने योजना छ ।

 

विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ ।

 

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । 

 

आयोजनाअन्तर्गत उदयपुरमा पर्ने १४१ मध्ये १० वटा टावर निर्माणमा अवरोध भएको हो । ओखलढुंगामा ११२, सोलुखुम्बुमा २४ टावर र सिराहामा २५ वटा टावर निर्माण भइसकेका छन् ।

 

सोलुखुम्बुको तिन्लाादेखि बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । तिन्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

 

सिराहाबाट गएको ३३ केभी लाइनलाई तिन्ला सबस्टेसनमा जोडिएको छ । प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेका १२ जलविद्युत् आयोजनाको ३ सय २५ मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

 

सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिनेछ । यी आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाले प्रसारण लाइन अभावमा उत्पादित विद्युत् खेर जाने चिन्ता प्रवद्र्धकले गर्दै आएका छन् । 

 

यी आयोजनाको विद्युत् जोड्न प्राधिकरणले प्रसारण लाइन समयमा तयार नगरे प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने व्यवस्था पिपिएमा छ ।

 

सोलु आयोजना विद्युत उत्पादनको चरणमा पुगेकाले प्राधिकरणले ३३ केभी लाइनमा जोड्ने विकल्प दिएको छ । ३३ केभी लाइनमार्फत सबै विद्युत् जोड्न सम्भव नहुने प्रवद्र्धकले बताउँदै आएका छन् ।

 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झन्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो । 

 

प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको छैँटौ पटक म्याद थपिएको छ । 

 

सोलु करिडोरमा सोलु १८ मेगावाट, जुनबेँसी ५.२ मेगावाट, लोअर सोलु ८२ मेगावाट, सोलुखोला २३.५ मेगावाट र सोलुखोला, दूधकोसी ८६ मेगावाट जलविद्युत् आयोजनाको बिजुली यही प्रसारण लाइनमा जोडिनेछ ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । 

 

आयोजनाले कटारी नगरपालिका वडा नम्बर ४ मरुवा, सिम्ले, बर्मझियाका १८ घरपरिवार विस्थापित हुने स्थानीयले बताउँदै आएका छन् । प्रसारण लाइन निर्माण गर्दा १८ मिटर चौडाइको करिब ३ किलोमिटर लम्बाइ त्यस क्षेत्रमा पर्ने बताइन्छ ।

 

स्थानीय देवीबहादुर थापा कुनै पनि हालतमा गाउँको बीचबाट प्रसारण लाइन निर्माण गर्न नदिइने बरु मर्न तयार हुने बताउँछन् । उनले भने, ‘हामी स्थानीको कमाइ खाने जमिन यही भएकाले मुआब्जा दिए पनि छाड्दैनौँ । खेतीपाती भइरहेको जमिनबाट बेदख्खल गरिए सामूहिक प्रतिकार गर्छौं ।’ 

 

उदयपुरका प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, कटारी नगर नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीको टोलीले प्रधानमन्त्री केपी ओलीलाई एलाइमेन्ट परिर्वतन गरिदिन ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन ।