close

ट्रयाक खोलेको तीन दशकपछि बल्ल कालोपत्रे

ट्रयाक खोलेको तीन दशकपछि बल्ल कालोपत्रे

Trulli
ADVERTISEMENT

तनहुँ- सहिद गीता मोटरमार्ग कालोपत्रे गरिएको छ । ट्रयाक खोलेको झन्डै ३ दशकपछि मोटर मार्गको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ टुँडा खण्ड कालोपत्रे गरिएको हो । त्यो पनि ३ सय मिटर मात्र । 


स्थानीय हर्कबहादुर गुरुङका अनुसार २ जेठ २०४९ मा सडकको ट्रयाक खोलिएको थियो । ‘त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग गर्‍यौं । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई २ दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्रयाक खोलिएको थियो’, उनी सम्झन्छन् । 


तत्कालीन समय भीमाद हुदै तनहुँको दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुँडा हुँदै शान्तिनगर (स्याउली बजार) झरेर भीमाद जाने सडक ट्रयाक खोलिएको थियो । 

 

केही वर्षसम्म यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भीमाद चोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको उनले बताए । ट्रयाक फेरिएपछि स्थानीयको चासो नहुँदा सडकको मुहार फेरिन लामो समय लागेको गुरुङको भनाइ छ । गुरुङले भने, ‘ढिलै भए पनि सडकको रूप फेरिएको छ ।’

 

गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयको साझेदारीमा सडक कालोपत्रे गरेको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए ।  ४० लाख ६० हजार ३ सय ४७ रुपैयाँ सडक कालोपत्रेका लागि लगानी भएको उनले बताए । 


शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएकी थिइन् । स्थानीय उपभोक्ताले १८ लाख १० हजार ३ सय ४७ रुपैयाँ लागत साझेदारी बेहोरेका छन् । 


वडाध्यक्ष क्षेत्रीका अनुसार ३ सय मिटर सडक कालेपत्रेसँगै ६ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रेलाई प्राथमिकता दिएको उनले बताए । 


गत वर्षसम्म यो सडकको अवस्था बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो । ट्रयाक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीय खुसी भएका छन् । तर, टुँडाको प्रवेशद्वार खैरेनीटार साना सहरी खानेपानी आयोजनाको ट्यांकीबाट झन्डै ५ सय मिटर सडकको अवस्था कन्तविजोेग छ । यो खण्ड पनि छिट्टै कालोपत्रे गर्न स्थानीयको माग छ । 

 

कालोपत्रे सडकको गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्घाटन गरिन् । उनले विकासका लागि जनता एक हुनुपर्ने बताइन् । ‘आफ्नो गाउँ आफैं राम्रो बनाउने भावना जागृत हुनुपर्छ । सरकारले पनि साथ दिन्छ’, उनले भनिन् ।