close

बाढीपहिरोले सडक सञ्जाल चुँडाएपछि टाढिए बस्ती

बाढीपहिरोले सडक सञ्जाल चुँडाएपछि टाढिए बस्ती

Trulli
ADVERTISEMENT

तनहुँ– पृथ्वी राजमार्गबाट झन्डै ११ किलोमिटर परको बस्ती अचेल निकै टाढिएको छ । १७ असारपछि पटक–पटक आएको बाढीपहिरोले शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ जरेबर आसपासका नाम्सीकोट, पाल्पालीछापलगायत बस्ती सडक सञ्जालबाट टाढिएका हुन् । 

 

बाढीपहिरो र उर्लेको खोलाले सडक सञ्जालबाट छुटाएको जरेबरका बुजसत्तो महतले बताए । ‘बजारबाट नजिक भए पनि दुर्गममा बसेजस्तै भएको छ । कतै सडक खोलाले बगाएको छ, कतै पहिरो झरेर रोकिएको छ’, उनले भने, ‘गाडी आउजाउ गर्न सकेका छैनन् ।’ 

 

सवारी आउजाउ नहुँदा अबको केही दिनमा यहाँका बस्तीमा खाद्यान्न अभाव हुने उनी बताउँछन् । बजारबाट गाउँसम्म बोकेर खाद्यान्नका सामग्री ल्याउन नसकिएको उनले जानकारी दिए ।

 

हरेक वर्ष बर्खा लाएपछि जरेबर आसपासका बस्ती दुर्गमजस्तै बन्ने उनको भनाइ छ । हिउँदमा यो क्षेत्रमा दुलेगौडाबाट मुस्ताङचोक, किमलडाँडा हुँदै क्याङदी खोला तरेर सिम्ले जोडिन्छ ।

 

सिम्लेमा क्याङदी मार्गमा जोडिएपछि अरौदी हुँदै गुमीखोला, वरखोला पार गरेर सवारी आउजाउ हुन्छ । बर्खाको भेलले उर्लिएको क्याङदी खोलाबाट यतिबेला सवारी वारपार गर्न सक्ने अवस्था छैन ।

 

विकल्पमा घुमाउरो बाटो भीमाद बजारबाट भागर हुँदै सिम्ले जोडिएर क्याङदी मार्गबाट जरेबर आसपासको बस्तीमा पुगिन्छ । त्यो बाटो प्रयोग गर्न पनि अरौदी नजिकै क्याङदी खोलाले सडकको नामोनिशान नरहने गरी कटान गरेको छ । 

 

गुमी खोलाले पनि सडकलाई क्षतविक्षत गराएर सवारी चल्न नमिल्ने बनाइदिएको छ । दुई पांग्रे मोटरसाइकल र स्कुटर चलाउन मुस्किल हुने अवस्थामा सडक छ । जरेबर पुग्न वर खोलाको बहाव पनि बाधक बनेको छ ।

 

सडक सञ्जाल टुटेपछि बिरामीलाई अस्पताल पु¥याउन पनि बोकेर लैजानुपर्ने अवस्था आएको शुक्लागण्डकी नगर कार्यपालिका सदस्य सानुमाया महत
बताउँछिन् । ‘यहाँको बस्तीमा स्वास्थ्य संस्था छैनन् । सिटामोल लिन पनि बजार पुग्नुपर्छ । दोहोरो खोला र पहिरोग्रस्त सडकले छेकेको छ’, उनले भनिन् । 

 

जरेबर, नाम्सीकोट, पाल्पालीछापलगायत बस्ती शुक्लागण्डकीमा पर्ने र सडक (क्याङदी मार्ग) भीमाद नगरपालिका पर्ने भएकाले पनि तत्कालै मर्मत गरी सुचारु गर्न नसकिएको उनको भनाइ छ ।सडक खुलाउन भीमादसँग समन्वय भइरहेको उनले बताइन् । 

 

क्याङदी मार्ग तत्काल खुलाउन नसकिने भीमाद नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । ‘धेरै ठाउँमा क्षति भएको छ । अरौदीमा क्याङदीले सडक नै नरहने गरी कटान गरेको छ । त्यहाँ खोलाको धार परिवर्तन गराउँदै छौँ । खोलाको धार परिवर्तन भयो भने सुक्खा भएपछि बल्ल सडक सुचारु गर्न सकिएला’, उनले भने । 

 

कम्तीमा अझै साता दिन सडक सुचारु नहुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । जरेबरमा वर खोला र क्याङदी खोलाले खेतीयोग्य जमिनसँगै बस्ती कटान गर्दा जोखिम बढेको स्थानीय बताउँछन् ।

 

शुक्लागण्डकी नगरपालिकाले नदी कटान रोक्न तारजाली उपलब्ध गराए पनि निरन्तरको वर्षाले तटबन्ध गर्न नसकिएको स्थानीयले सुनाए । जरेबर आसपासका बस्तीलाई बर्खामा वर खोला बढ्दा सहज तरिकाले आउजाउ गर्न मोटर गुड्ने पुल बनाउन थाले पनि निर्माण सम्पन्न भएको छैन ।