close

खोटाङे सडकको दुर्दशाः भासिन्छ गाडी, चिनिदैनन् यात्रु 

खोटाङे सडकको दुर्दशाः भासिन्छ गाडी, चिनिदैनन् यात्रु 

Trulli
ADVERTISEMENT

खोटाङ- वर्षा याम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ । वर्षाको सिजन सुरु भएसँगै हिलाम्मे भएपछि जिल्लाको दिक्तेल-रसुवाघाट, दिक्तेल-मात्तिम-पञ्चमी, दिक्तेल-खानीडाँडा-याम्खा, दिक्तेल-साकेला, दिक्तेल-जालपा-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी लगायतका कच्ची सडक बन्द भएको हो । 

 

हिलो जमेपछि कतिपय कच्ची सडक जेठ सुरु भएदेखि बन्द छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका सडकमा बस तथा जीप हिड्न सक्ने अवस्था छैन । 

 

कोभिड-१९ को महामारीका कारण जिल्लाका शाखा सडकमा सवारी साधन कम चलेका छन् । यद्यपी, हिलाम्मे भएका कारण सवारी साधन चल्न सक्ने अवस्था नभएको महासचिव हिङमाङले बताए । 

 

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार-पसार गर्ने एम्बुलेन्स सेवा सबैभन्दा बढी प्रभाबित भएको छ । एम्बुलेन्स हिड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । 

 

जनप्रतिनिधिमाथि प्रश्न 

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । बाईक हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप-छ्याप्ती देखिन्छ । 

 

हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् । दिक्तेलबाट लफ्याङ, मात्तिम हुँँदै पञ्चमी पुग्ने तथा दिक्तेलबाट खानीडाँडा हुँदै याम्खा पुग्ने सडकको बारेमा सबैभन्दा बढी गुनासो सहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन् । 

 

अधिकांश बजेट कच्ची सडक खन्नमा बजेट खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतिमा भने ध्यान दिएको देखिदैन । स्तरोन्नतिमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको गुनासो छ । 


हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल-हलेसी-जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ अन्तरगतका केही खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् । 

 

सदरमुकाकै सडकमा हिलो 

वर्षाका कारण साविकको सदरमुकाम दिक्तेलबजारकै सडक हिलाम्मे बनेको छ । दिक्तेलबजारको हाटडाँडादेखि सिँचाईगेटसम्मको खण्ड ढलानमा ढिलाइ हुँदा र वर्षाको पानीले हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भइरहेको छ । 

 

दिक्तेल बजारका पुरानो बेसक्याम्प, सिँचाई गेट आसपासमा आहालजस्तै धमिलो पानी जमेको देखिन्छ । दिक्तेलबजारको रत्नपार्कदेखि सिँचाईगेटसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ । हाटडाँडादेखि त्रिबेणीचोक हुँदै सिँचाई गेटसम्मको खण्ड ढलान गर्न बाँकी छ । 

 

त्यसमध्ये टेलिकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल-खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वतः ढलान हुने छन् । टेलिकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता भएको महिना दिन वित्दा समेत काम नहुँदा स्थानीय हिलाम्मे बजारमा हिँड्न बाध्य छन् । 

 

जिल्लाका जनप्रतिनिधि, नेता लगायतलाई नै गिज्याइरहेको दिक्तेलबजारको टेलिकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि सुर्य विकास जेभी लाहानले ठेक्का पारेको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी २० मंसिरसम्ममा सम्पन्न गर्नेगरी सुर्य विकास जेभीले गत १० असारमा सम्झौता गरेको हो ।