close

अत्याधुनिक बन्दै हेटौंडा अस्पतालः नयाँ भवन शिलान्यास

अत्याधुनिक बन्दै हेटौंडा अस्पतालः नयाँ भवन शिलान्यास

Trulli
ADVERTISEMENT

मकवानपुर- बागमती प्रदेश मुकाम रहेको मकवानपुरस्थित हेटौंडा अस्पतालको क्षमता विस्तारका लागि नयाँ भवन शिलान्यास गरिएको । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा निर्माण हुने उक्त भवनको शिलान्यास गरे ।


हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित अस्पताल परिसरको पूर्वतर्फ रहेको पुरानो भवनलाई हटाएर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले नयाँ भवन निर्माण गर्न लागेको हो ।


कुल १ हजार ३३३ वर्गमिटर क्षेत्रफलमा बन्ने भवन निर्माणका लागि गत १८ असारमा सम्झौता गरिएको थियो । आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बिकेओआई/नव सिर्जनशील जेभीलाई निर्माण जिम्मा दिइएको छ ।

 

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकार स्थापनापछि हेटौंडा अस्पतालमा धेरै परिवर्तन भएको बताए । प्रदेश सरकार गठन भएको साढे ३ वर्षमै प्रदेशको स्वास्थ्य सेवा र शिक्षामा व्यापक परिवर्तन आउने गरी काम गरेको दाबी गरे । 


मुख्यमन्त्री पौडेलले प्रदेशका नागरिकको स्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सरकारले सफल बनाउँदै लगेको दाबी गरे । शिक्षा र स्वास्थ्यमा पिछडिएको बागमती प्रदेशको अवस्थामा परिवर्तन गरेर नागरिकको सेवामा सक्रिय ढंगबाट सरकार क्रियाशील रहेको उनको भनाइ छ ।\

 

आगामी २ वर्षभित्र बन्ने हेटौंडा अस्पतालमा सिटी स्क्यान, एमआरआईलगायत सेवा विस्तारका साथै ५ सय शय्या क्षमतामा अस्पताल सञ्चालनका लागि भौतिक संरचना थप गर्ने कार्य अगाडि बढाइएको उनले जानकारी दिए । उनले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।