close

जुम्ला-जाजरकोट जोड्न सुरुङमार्ग !

जुम्ला-जाजरकोट जोड्न सुरुङमार्ग !

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको इमिल्चा हुँदै जाजरकोट जोड्ने सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । जुम्ला-जाजरकोट यात्रालाई छिटो तथा सहज पार्नका लागि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका-८ साङटाको बीचमा सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

 

सुरुङमार्ग खोल्ने र सडक निर्माणलाई गति दिएर जुम्ला-जाजरकोटको यात्रालाई छिटो र भरपर्दो पार्नका लागि पूर्वमन्त्री शक्ति बस्नेत र तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेबीच छलफल भएको हो ।


सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । पूर्वमन्त्री शक्ति बस्नेतका अनुसार जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो मार्ग पनि भएकाले सुरुङ खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।

 

जाजरकोट सदरमुकाम-पाँचकाटिया हुँदै कुशे-८ साङटाबाट जुम्लाको तातोपानी गाउँपालिकाको ८ इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया सडक डिभिजन चौरजहारीले सुरु गरेको छ । 

 

कर्णाली राजमार्ग हुादै इमिल्चा-जाजरकोट जोड्न जुम्ला खण्डमा सडक निर्माण भइसकेको छ । करिब ६ वर्षपछि जुम्ला जाजरकोट जोड्ने पक्की पुल जुम्लाको त्रिवेणीमा सम्पन्न भई सञ्चालनमा आएको छ । 

 

उता जाजरकोटको सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ । जुम्लाको इमिल्चाघारी र जाजरकोटको पाँचकाटिया साङटाबीचको ठाउँमा सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययनको तयारी भएको तातोेपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

 

उनले भने, ‘जुम्लादेखि जाजरकोट जान सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुनेछ । छलफलपछि पूर्वमन्त्रीले पहल थाल्नु भएको छ । निर्माण कार्यलाई बढी जोड दिइने छ । अहिलेसम्म स्थानीयतहको लगानीको कुरा उठको छैन । तर हामी लगानी गर्न तयार छौ ।’
 
जाजरकोट साङटादेखि जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झन्डै पाँच किलोमिटर जति पहाड प्वाँल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण हुने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार एक दुई बास बसेर आवतजावत गर्ने नागरिकहरुले सुरुङमार्ग निर्माण पछि १ घण्टामै जुम्ला आउजाउ गर्न सक्ने छन् ।