close

पाथीभरामा बन्ने भो लिफ्टिङ खानेपानी आयोजना 

पाथीभरामा बन्ने भो लिफ्टिङ खानेपानी आयोजना 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– जग्गासम्बन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथीभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजना निर्माण अघि बढ्ने भएको छ ।

 

खानेपानी आयोजना निर्माण कम्पनी प्रेरा–विष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबुलकार प्रालिबीच मुहान नजिक बनेको ट्यांकी निर्माणको विषयमा जग्गामा विवाद थियो ।

 

खानेपानी आयोजना निर्माण कम्पनी र पाथीभरादेवी दर्शन केबुलकार प्रालि विवाद समाधान गर्दै आयोजना अघि बढाउन सहमत भएका छन् । 

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम, पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, निर्माण व्यवसायी प्रेरा–विष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबुलकार प्रालिका प्रतिनिधिबीच विवाद समाधानका लागि ५ बुँदे सहमति भएको छ ।

 

सहमतिअनुसार जग्गा विवादका कारण निर्माण भइसकेको ५० घनमिटरको आरसीसी ट्यांकी र पम्प हाउस पुनर्निर्माणका लागि पाथीभरादेवी दर्शन केबुलकार प्रालिले जग्गा उपलब्ध गराउनेछ ।

 

उक्त संरचना बनाउन प्राविधिक विशिष्टतामा फरक नपर्ने गरी नक्सा र बीओक्यूमा उल्लेख भएबमोजिमको परिमाणमा आरसीसी ट्यांकीको १.६० मिटरसम्मको उचाइ पाथीभरादेवी दर्शन केबुलकार प्रालिबाट १५ कात्तिक २०७८ सम्म निर्माण गरिदिने सहमति बनेको छ । 

 

सहमतिअनुसार ट्यांकीको १.६० मिटरभन्दा माथिको बाँकी संरचना र पम्प हाउस निर्माण निर्माण व्यवसायीले गर्नेछन् । उक्त कार्य सम्पादन भइसकेपछि विवादित जग्गामा निर्माण भएको ५० घनमिटरको आरसीसी ट्यांकी र पम्प हाउस पाथीभरादेवी दर्शन केबुलकार प्रालिले व्यवस्थापन गर्नेछ ।

 

ट्यांकीको १.६० मिटर सम्मको उचाइको संरचना बनाउन पाथीभरादेवी दर्शन केबुलकार प्रालिलाई आवश्यक पर्ने प्राविधिक सहयोग संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामले उपलब्ध गराउनेछ ।

 

सहमतिपत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट आयोजना प्रमुख सुरतलाल चौधरी र इञ्जिनियर रुपक पराजुली, उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपाने र कोषाध्यक्ष तेजबहादुर खत्री भट्टराई, निर्माण व्यवसायीका प्रतिनिधि नन्दकुमार ओझा, पाथीभरादेवी दर्शन केबुलकार प्रालिका प्रतिनिधि मणिशंकर पोमू तथा साक्षीको रूपमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति सदस्य सुरेश लिम्बूले हस्ताक्षर गरेका छन् ।

 

फुङ्लिङ नगरपालिका वडा नम्बर ११ फावाखोलास्थित डढेली खोल्सीनजिक निर्माण भएको ट्यांकी र पम्प हाउस निर्माणको विषयमा निर्माण कम्पनी प्रेरा–विष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबुलकार प्रालिबीच जग्गा विवाद थियो ।

 

खानेपानी आयोजना निर्माण गर्ने पक्षले आफ्नो स्वामित्वमा रहेको जग्गा अनधिकृत रूपले प्रयोग गरेको पाथीभरादेवी दर्शन केबुलकार प्रालिको दाबी थियो ।

 

१८ असोज २०७७ मा ठेक्का सम्झौता गरेर काम सुरु भएको यो आयोजनामार्फत पाथीभरादेवी मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिद्धारा खानेपानी पु¥याउन सुरु भए सुरु भएको आयोजना हो ।

 

पाथीभरा ताप्लेजुङ सह–लगानी खोनपानी आयोजनाको सम्झौता रकम ५ करोड ४६ लाख ६४ हजार ३ सय ५५ रुपैयाँ छ । आउँदो १४ चैतसम्म आयोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।

 

कुल लागतको ७० प्रतिशत सरकार र ३० प्रतिशत पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बेहोर्ने १० असार २०७७ मा दुवै पक्षबीचको सम्झौतापत्रमा उल्लेख छ ।

 

आयोजनाको २० प्रतिशत श्रमदान रकम १ करोड ६४ लाख ४ सय ३२ रुपैयाँ छ । यसैगरी उपभोक्ता समितिले आयोजनाको १२.६१ प्रतिशत अर्थात् १ करोड ३ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ उपभोक्ता संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा दाखिला गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।  आयोजनाको कुल लागत स्टिमेट ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ छ ।