close

रेल्वे मुआब्जापीडितको माग सम्बोधनमा गृहको सहमति 

रेल्वे मुआब्जापीडितको माग सम्बोधनमा गृहको सहमति 

Trulli
ADVERTISEMENT

महोत्तरी– रेल्वे मुआब्जापीडितले सरकारले निर्धारण गरेको मुआब्जा कम भएको गुनासोसहित आइतबार गृह मन्त्रालय पुगेर निर्धारित मूल्यमा पुनर्विचार गर्न माग गरेका छन् ।

 

रेल्वे मुआब्जापीडित संघर्ष समिति संयोजक राजु खड्काको संयोजकत्वमा मन्त्रालय पुगेका पीडितले मुआब्जामा पुनर्विचार गरी माग गरेबमोजिम न्यूनतम मूल्यको सम्बोधन गर्न आग्रह गरेका हुन् ।

 

यसअघि पीडितले सरकारले निर्धारण गरेको मुआब्जा कम भएको भन्दै धर्ना, बर्दिबास सेवा केन्द्र घेराउदेखि रेल्वेले अधिग्रहण गरेको जग्गामा कालो झन्डा गाडेर विरोध गरेका थिए ।

 

गृह मन्त्रालयले असन्तुष्टलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । ‘रेल्वेपीडित प्रत्येकलाई प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन गृहले सर्कुलर गरेको छ’, गृहमन्त्री बालकृष्ण खाँडको भनाइ उद्धृत गर्दै बर्दिबास नगरपालिका प्रमुख विदुर कार्कीले भने ।

 

पीडितको मागमा मन्त्रालय सकारात्मक रहेको बताउँदै नगरप्रमुख कार्कीले छिट्टै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी आउने विश्वास व्यक्त गरे ।
‘तपाईंहरू मारमा पर्नुभएछ । अब व्यक्तिगत रूपमा उजुरी हाल्न लगाउनुस् । १५ दिनभित्र पुनर्विचार हुन्छ’, संघर्ष समिति संयोजक राजु खड्काले गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।


गृह सचिव, सहसचिव र गृहमन्त्रीसँग करिब २ घन्टा मुआब्जाकै बिषयमा छलफल भएको खड्काले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई मुआब्जा चलनचल्तीको मूल्यअनुसार नै निर्धारण भएको बताउँछन् ।

 

मुआब्जा निर्धारण समिति संयोजकसमेत रहेका भट्टराईले अध्ययन, अनुसन्धान गरेर निर्धारण गरेको मूल्यमा कुनै पुनर्विचार गर्न नसकिने जवाफ दिँदै आएका छन् । ‘गृहबाट पुनर्विचार गर्न आदेश आए मात्र केही हुन सक्छ । पीडितका प्रतिनिधिलाई मैले नै मन्त्रालय जान सुझाएको थिएँ’, भट्टराईले भने ।


मुआब्जा निर्धारण समितिले न्यूनतम ७ लाख देखि ८१ लाख रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ भने पीडितले न्यूनतम २० लाखदेखि अधिकतम १ करोड २० लाख रुपैयाँसम्म पाउनुपर्ने माग गर्दै आएका छन् ।

 

रेल्वेले बर्दिबासमा रेल्वे स्टेसन र लिकका लागि २०७३ मै करिब ६० बिघा जग्गा अधिग्रहण गरेको थियो । सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा ७ अर्ब २० करोड भारु अनुदानमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडगेज रेल्वेको पूर्वधार निर्माण थालिएको थियो ।


२ वर्षअघि नै काम सकिनुपर्ने समयसीमा भए पनि कहिले मुआब्जा विवाद र कहिले आन्दोलनलगायत कारण अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन ।