close

पर्यटकीय स्थल रारा ताल जोड्ने उर्थु–पटमारा सडक अवरुद्ध

पर्यटकीय स्थल रारा ताल जोड्ने उर्थु–पटमारा सडक अवरुद्ध

Trulli
ADVERTISEMENT

जुम्ला–पर्यटकीय स्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु रारा ताल जोड्ने छोटो दूरीको उर्थु–पटमारा सडक खण्ड अवरुद्ध भएको हो । 

 

लगातारको वर्षाले पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जुम्ला–उर्थु–पटमारा, न्याउरीघाट–बुलबुलै हुँदै मुगु जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीयलाई असहज भएको छ ।

 

नाग्म–गमगढी सडकभन्दा जुम्ला–उर्थु– पटमारा सडकबाट रारा ताल पुग्न करिब ३ घन्टा छोटो पर्छ । आन्तरिक तथा बाह्य पर्यटक पनि उर्थु–पटमारा हुँदै रारा ताल पुग्ने गर्छन् ।

 

पातारासी गाउँपालिका वडा नम्बर ७ मा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्य बाटो पनि यही हो । पहिरोले सडक अवरुद्ध भएपछि स्थानीयसँगै पर्यटकलाई पनि आउजाउमा समस्या भएको स्थानीय लालबहादुर बुढाले बताए ।

 

उनले भने, ‘आइतबार दिउँसो १ बजे पहिरो गएको हो । पहिरोले सडक छेउमै रहेको विद्युत् नहर भत्किँदा बिजुली अवरुद्ध भएको छ । दैनिक उपभोग्य वस्तु ल्याउन पनि स्थानीयलाई मुस्किल छ ।’

 

गत आर्थिक वर्षमा मात्रै निर्माण भएको पक्की पर्खाल भत्किएको बुढाले जानकारी दिए । उनका अनुसार चाँडै पहिरो रोकथाम नगरे बाँकी सबै सडक भत्किने र अन्नबाली लगाएका खेतीयाग्य जमिन पनि बग्ने अवस्था छ ।

 

जुम्ला विमानस्थल हुँदै पातारासी क्षेत्रमा बस चलाउँदै आएका चालक कृष्ण विष्टले जुम्ला हुँदै उर्थु–पटमारा सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको बताए ।

 

उनले भने, ‘सडक कम्तीमा ग्राभेल भएको भए सहज हुन्थ्यो । सडक साँघुरो छ । बसको कुरै नगरौँ, बाइकलाई पनि साइट दिने ठाउँ छैन । साँघुरो सडक र त्यसैमाथि हिलो, खाल्डाखुल्डी र ठाउँ– ठाउँमा पहिरो गएको छ ।’

 

पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले सडक निर्माण गुणस्तरीय नभएकै कारण वर्ष दिन नपुग्दै निर्माण भएका संरचना भत्किँदै जाने गरेको बताइन् ।

 

जुम्ला हुँदै रारा ताल जाने छोटो मार्गको स्तरवृद्धि तथा सडक सुधारमा प्रदेशले थप लगानी गर्नुपर्ने उनको भनाइ छ । पहिरो पन्छउन आवश्यक पहल भइरहेको उनले जानकारी दिइन् । 

 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले अवरुद्ध जुम्ला–रारा जोड्ने सडकको उर्थु–पटमारा खण्डको अवलोकन गर्दै पहिरो पन्छाउन पहल भइरहेको बताए ।