close

लिमीमा हेलिकोप्टरबाटै बोकियो फोरजी टावर निर्माण सामग्री

लिमीमा हेलिकोप्टरबाटै बोकियो फोरजी टावर निर्माण सामग्री

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको विकट उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ ।


लामो समयदेखि लिमीमा टावर नहुँदा सञ्चारमा जोडिन नसकेका स्थानीयलाई सञ्चारमा जोड्न फोरजी टावर निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामाले भने, ‘स्थानीयलाई सञ्चारमा जोडिन पाउने आश धेरै समयसम्म थियो । अथक प्रयासले बल्ल सपना पूरा हुने क्रममा छ । मान्छेले बोक्न सक्ने अवस्था नभएकाले हेलिकोप्टरमार्फत सामान ढुवानी गरिएको हो ।’


टावर निर्माणका लागि सडक मार्ग नहुँदा सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण बढी तौल भएका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । 

टावर निर्माणका लागि सोलार सिस्टमका उपकरण सिम्रिक एयरको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । नागरिकलाई विकास र समृद्धिको अनुभूति दिलाएर सञ्चारको पहुँचमा जोड्न फोरजी टावर निर्माण गर्न लागिएको हो । 


नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका तिल र हल्जी गाउँ नजिक पर्ने अग्लो डाँडामा टावर निर्माण गरिनेछ । ठेक्का टेन्डरबाट टावर निर्माण हुन लागेको हो भने हेलिकोप्टरको सामान ढुवानी खर्च गाउँपालिकाले बेहोरेको छ ।  थप सामग्री गाडीबाट ढुवानी गरिने गाउँपालिकाले बताएको छ । 

 

नाम्खाको लिमी भ्याली पर्यटकीय गन्तव्यका लागि जिल्लाकै उत्कृष्ट मानिँदै आएको छ । लिमीको लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागि बर्सेनि आन्तरिक तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

 

फोरजी टावर सञ्चालनमा आएपछि स्थानीय मात्रै नभएर यस क्षेत्रमा पुग्ने पर्यटकसमेत सञ्चारमा सहजै जोडिन सक्नेछन् ।