close

कर्णालीका तीन जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनबाहिरै

कर्णालीका तीन जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनबाहिरै

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेशका तीन जिल्लामा अहिलेसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेको हो । 

 

पछिल्लो समय कर्णालीका कालीकोट र जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । प्रदेशका १० मध्ये ७ जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ ।


हुम्ला, मुगुु र डोल्पामा ३३–११ केभीए सब–स्टेसन र ३३ केभीए लाइन बन्दै छन् । सबै जिल्लाका राष्ट्रिय प्रसारण लाइन नपुगेको ठाउँमा ११ केभीए लाइन, एलटी लाइन र ट्रान्सफर्मर बन्दै छन् ।

 

प्रसारण लाइन पुगिसकेका अरू जिल्लाका ग्रामीण भेगमा पनि ११ र ३३ केभीएका प्रसारण लाइन निर्माण भइरहेको कार्यालयले जनाएको छ । कर्णालीका ७ जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि विद्युत् उपभोग गर्नेको संख्या बढेको छ । राष्ट्रिय प्रसारण लाइनका साथ साथै साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् उपयोग गर्ने घरधुरीको संख्या प्रदेशमा हालसम्म ४३ प्रतिशत रहेको प्राधिकरणले बताएको छ । 


प्रदेश कार्यालय प्रमुख सुरेन्द्र अग्रहरीले ४३ दशमलव ८७ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेको बताए । कार्यालयका अनुसार रुकुम पश्चिममा ७५ दशमलव २ प्रतिशत, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत र सुर्खेतमा ४८ दशमलव १६ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।

 

दैलेखमा ४८ दशमलव ७३ प्रतिशत, जाजरकोटमा १६ दशमलव १५, डोल्पामा २१ दशमलव ९ प्रतिशत र जुम्लामा १९ दशमलव ३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।

 

कालीकोटमा ४३ दशमलव ५७ प्रतिशत, मुगुमा १९ दशमलव ६४ प्रतिशत र हुम्लामा २९ दशमलव ६९ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेका छन् ।

 

कर्णालीमा अझै पनि ५७ प्रतिशत नागरिक विद्युत्को पहुँचबाहिरै छन् । सहरी इलाकामा विद्युत् पहुँच बढी भए पनि ग्रामीण भेगका नागरिक अझै अन्धकारमै बस्न बाध्य छन् ।


ग्रामीण भेगमा वैकल्पिक ऊर्जा, टुकी, दियालो बाल्ने गरिन्छ । कर्णाली वैकल्पिक ऊर्जाको योगदान ३९ प्रतिशत छ । ऊर्जा उत्पादनको पर्याप्त सम्भावना भए पनि लगानी नहुँदा कर्णालीका नागरिक विद्युत् पहुँचभन्दा बाहिर रहनुपरेको हो ।

 

प्रदेशमा १८ हजार मेगावट विद्युत् उत्पादन गर्न सकिने सरकारी तथ्यांक भए पनि दर्जनौँ आयोजना होल्डमा छन् । कतिपयले विद्युत् उत्पादनको इजाजतपत्र लिएर निर्माण गरेका छैनन् । 

 

केही जिल्लामा सरकारी लगानीमा लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । कार्यालयको तथ्यांकअनुसार हुुम्लामा ५ सय किलोवाट, मुगुमा ५ किलोवाट, कालीकोटमा ४ सय किलोवाट, जुम्ला एवं डोल्पामा २÷२ सय किलोवाट र रुकुम पश्चिममा १२० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।