close

खलंगामा खानेपानीको हाहाकार : बनेका संरचना प्रयोगविहीन

खलंगामा खानेपानीको हाहाकार : बनेका संरचना प्रयोगविहीन

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ मालाभिड गाउँमा ३ वर्षअघि १० लाख रुपैयाँ बजेटमा खानेपानीको ट्यांकी बन्यो । ५ लाख रुपौपाइप लाइनमा खर्च भयो । अहिले त्यो ट्यांकी, पाइप लाइन प्रयोगविहीन छन् ।

 

ट्यांकीमा पानी नै खस्दैन । खानेपानीका संरचना बनाएर हरेक वर्ष बजेट खर्च हुने तर पानी नै नचुहिने भएपछि मालाभिड माथिल्लो बस्तीका नागरिकलाई समस्या भएको छ । 

 

यहाँका बासिन्दाले खोला, खोल्साको पानी खाएर गुजारा चलाउनुपरेको स्थानीय गणेश पण्डितले बताए । उनले भने, ‘संरचना बनाएर बजेट मात्रै खेर गयो । पानी खान पाएनौँ । धेरै वर्ष पहिलो बनेको सानो सानो ट्यांकी छ । त्यही पनि जीर्ण भइसक्यो । त्यही पानीले गुजारा चलाउनुपरेको छ ।’

 

अपुग पानीका लागि खोलानाला, खोल्साको भर पर्नु परिरहेको उनको गुनासो छ । यो बस्तीमा ३५ घरधुरी छन् । सदरमुकाम खलंगा १० वडामा विभाजित छ । ४ हजार २७१ घरधुरीको २० हजार ८८४ जनसंख्या छ । १ हजार ६ सय घरधुरीमा खानेपानीका लाइन जडान छन् । 

 

नगरपालिकाका १० मध्ये, १, ४, ५, ६ र ७ वडाका केही गाउँमा खानेपानी धारा सञ्चालनमा छन् । अहिले पनि ७०÷८० निवेदन खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति खलंगामा आएका छन् ।

 

तर, धारा जडान हुन सकेका छैनन् । खलंगामा अहिले तीव्र जनसंख्या वृद्धि हुँदै गएको छ । बर्सेनि १ सय बढी घर निर्माण हुने गरेकाले सबैलाई खानेपानी पु¥याउन नसकिएको समितिका महासचिव मीनबहादुर थापाले बताए । उनले भने, ‘सबै घरधुरीमा खानेपानी पर्याप्त मात्रामा पु¥याउन खानेपानीका ट्यांकी निर्माण भए पनि अहिले कतिपय ट्यांकी प्रयोगविहीन छन् ।’


खलंगामा खानेपानी नपुगेर तिला नदीको पानी खाने गरेको स्थानीय धर्मराज बोहरा बताउँछन् । उनी भन्छन्, ‘हामी खानेपानी अभावले भौतारिएका छौँ । नदीको पानी खान बाध्य छौँ । तर, करोडौँ रकम खर्चेर फिल्टर ट्यांकी बन्दै छ । बर्खाको समय नदीकै धमिलो पानी खाने गरेका छौँ ।’

 


वर्षौंदेखि निर्माण गर्न थालिएको ठिन्केस्थित पानी फिल्टर ट्यांकी अहिलेसम्म प्रयोगविहीन भएको छ । ट्यांकी प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ । जुम्लामा खानेपानीको क्षमता कम भएकाले बजारका सबै घरमा पानी कम पुग्ने गरेको छ ।

 

संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण यस्तो समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ । बजेट अभावको वहाना देखाए पनि फिल्टर ट्यांकी निर्माण भनेर बर्सेनि राज्यको लगानी सकिने गरेको छ । 

 

खानेपानी कार्यालय जुम्लाका सब–इन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौँ । जनशक्ति अभाव भएकाले कार्य सम्पादनमा समस्या भएको हो ।’


फिल्टर ट्यांकी नयाँ आयोजना भएकाले पनि विज्ञको सल्लाहमा काम गर्ने तयारी भइरहेको उनले जानकारी दिए । उनले थपे, ‘फिल्टर ट्यांकीका लागि बजेट आउँछ । हामी खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिलाई सम्झौता गरेर काम गर्न दिन्छौँ ।’ 


आयोजनाको लागत २ करोड ५७ खाख ६८ हजार, ४सय ९१ रुपैयाँ रहेको कार्यालयले जनाएको छ । फिल्टर ट्यांकीमा पानी फिल्टर गर्न चाहिने गिटी, र बालुवा जुम्लामा नपाइने भएकाले दाङदेखि ल्याउनुपर्दा काममा ढिला भएको छ ।


खलंगा खानेपानी उपभोक्ता समितिका महासचिव थापाले पर्याप्त खानेपानीका लागि ट्यांकीका संरचना बनेको दाबी गरे । उनले भने, ‘४ लाख लिटर क्षमताको ट्यांकी बने पनि मूल पाइप लाइनको काम बाँकी छ ।’ उनका अनुसार यो आर्थिक वर्षमा काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ ।