close

जुम्ला मुकाम खलंगाभित्रैका दर्जनौँ सडक हिलाम्य

जुम्ला मुकाम खलंगाभित्रैका दर्जनौँ सडक हिलाम्य

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेशको मुकाम वीरेन्द्रनगर सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्ला सदरमुकाम खलंगा अर्थात् चन्दननाथ नगरपालिका हो । संघीयतापछि कर्णाली प्रदेशको मुकाम सुर्खेत गर्ने कि जुम्ला भन्ने विषयमा नेताहरूबीच मतभेद भएको थियो । प्रदेशकै राजधानी अर्थात् मुकाम जुम्लाको खलंगा बनाउनुपर्छ भन्दै गर्दा यहाँका सडक, ढल निकास सुधार्न नेता र सरोकारवाला निकायले बुझेनन् ।

 

अहिले यहाँका सडक जताजतै हिलाम्य हँुदा नागरिकलाई ओहोरदोहर र सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ । संघीयतापछि स्थानीय सरकार सञ्चालनको चार वर्ष बितिसक्दा पनि जुम्लाको मुकाम खलंगाभित्रका हिलाम्ये सडक अझै सुधार हुन सकेनन् ।

 

नेपाल टेलिकम हुँदै सिंगाचौर सडक, पत्रकार महासंघ हुँदै सिंगाचौर सडक, टेलिकम अगाडि विजयनगर हुँदै बसर्पाक जाने सडकलगायत चन्दननाथका दर्जनौँ भित्री सडक वर्षौंदेखि हिलाम्य छन् ।


चन्दननाथ नगरपालिका ८, ९, १० नम्बर वडाका गाउँ पुग्ने सडक पनि हिलाम्य नै छन् । नगरपालिकाभित्रकै कर्णाली भनेर चिनिने वडा नम्बर ८ मा सञ्चार, विद्युत् तथा सडकको विकास अझै हुन सकेको छैन । गाउँ पुगेका तथा सदरमुकामभित्रका कच्ची सडक सुधार तथा स्तरवृद्धिमा नगरपालिकाको ध्यान नपुग्दा स्थानीयलाई सकस हुँदै आएको छ ।

 

चन्दननाथ नगरपालिका वडा नम्बर ४ का पेमा लामाले भने, ‘न राम्रो सडक, न त नियमित पानी आउने । हिलाम्ये सडकले आउजाउमा मुस्किल छ । जनप्रतिनिधिको कार्यकाल सकिन लागिसक्यो । सडक सुधार हुने टुंगो छैन । नगरपालिकालाई कर तिर्न मन लाग्दैन ।’

 

पत्रकार महासंघ हुँदै भित्र जाने सडकमा घर भएका लामा चन्दननाथका भित्री सडकमा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती खप्नुपरेको बताउँछन् । यो सडक बाह्रैबास हिलाम्य हुने गरेको छ । केही दिनयता नियमित वर्षा भएपछि नगरपालिकाका आधा दर्जन भित्री सडक हिलाम्ये छन् ।

 

टेलिकम अगाडिको सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै हिलोले पुरिएको छ । नगरपालिकाले नाली व्यवस्थापनदेखि हिलाम्ये सडकलाई आरसिसीसम्म गर्न सकेको छैन । सोही कारण हिलाम्ये सडकबाट आउने हिलोले कालोपत्रे पुरिएको हो ।

 

गाउँ–गाउँका सडक आरसिसी भइसक्दासमेत स्मार्ट सिटी बनाउने सपना बाँडिएको नगरपालिकाका भित्री सडक हिलाम्ये रहिरहनु अनुचित भएको नागरिक अगुवा राजबहादुर महत बताउँछन् । सडक, बत्ती, खानेपानीजस्ता आधारभूत विकासमा नगरपालिकाको ध्यान जानुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

 

वडा नम्बर ६ का वडाध्यक्ष अजबहादुर रावलले विजयनगर र पत्रकार महासंघ हुँदै एमाले पार्टी कार्यालयसम्मको सडक स्तरवृद्धि गर्न गत वर्ष नै ठेक्का भएको जानकारी दिए । तर, नगरपालिकाकै ढिलासुस्ती, निर्माण व्यवसायीलाई ताकेता नदिएकै कारण ढिलाइ भएको उनको भनाइ छ । उनले भने, ‘टेन्डर भएको १ वर्ष भयो । काम भएको छैन । कार्यान्वयन तहमा हामी नहुँदा काम गर्न गाह्रो छ ।’ 

 

चन्दननाथका इन्जिनियर लोकेन्द्र महतले विजयनगर–पत्रकार महासंघदेखि भित्री सडक चाँडै स्तरवृद्धि हुने बताए । उनले भने, ‘विजयनगरमा एक साइट नाला र अर्को साइटमा क्यारी निर्माण हुनेछन् । पत्रकार महासंघभित्रको सडक आरसिसी हुँदै छ ।’ इन्जिनियर महतले गत वर्ष करिब ४० लाख रुपैयाामा टेन्डर भए पनि लकडाउन र बर्खाले काम रोकिएकाले तत्काल काम सुरु गर्न पत्राचार गरिएको दाबी गरे ।