close

वर्षाले सडक क्षतविक्षत भएपछि सवारीसाधन बाटोमै अलपत्र

वर्षाले सडक क्षतविक्षत भएपछि सवारीसाधन बाटोमै अलपत्र

Trulli
ADVERTISEMENT

उदयपुर–    स्थानीय तहले बर्खामास भत्किएका सडक दसैँअघि टालटुल गरी सञ्चालनमा ल्याए पनि केही दिनअघिको वर्षाले क्षतविक्षत बनाएको छ । हालैको बेमौसमी वर्षाले अन्तरपालिका सडकमा ठूलो क्षति पुर्‍याएको हो । पालिकाहरूले विभिन्न शीर्षकको बजेट काटेर जिल्लाका सबै ग्रामीण सडकमा दसँैमा यातायात सञ्चालन गरे पनि लगत्तैको बेमौसमी वर्षाले क्षतिग्रस्त बनेका छन् ।  बेमौसमी वर्षापछि आएको बाढीपहिरोले गन्तव्यमा पुगेका तथा फर्किदै गरेका आधा दर्जन बढी यात्रुवाहक बस बाटोमै अलपत्र परेका छन् ।

 

सडकमा यात्रु लिएर गएका बस गन्तव्यमा फर्किन नपाउँदा यातायात व्यवसायी चिन्तित बनेका छन् । पहिरोले सडक क्षतविक्षत बनेकाले बस ल्याउन नसकिएको उनीहरू बताउँछन् । 

 

वर्षाले अधिकांश ग्रामीण सडक क्षतिग्रस्त बनाउँदा दसैँ मानेर सहर फर्किनेहरूले सास्ती बेहोर्नुपरेको छ । पहाडी भेगका सडक ध्वस्त भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेको हुन् ।

 

निरन्तरको वर्षाले सडक भत्काउनुका साथै पहिरोले पुरेपछि सवारीसाधन बाटोमै थुनिनुपरेको हो । वर्षाले सडक बिगारेपछि सदरमुकाम र गाउँबीचको नियमित यातायात आउजाउ रोकिन पुगेको छ भने बीच बाटोमा थुनिएका सवारीसाधन निकाल्न सडक मर्मतमा व्यवसायी आफैं लागेका छन् ।

 

वर्षाले भत्काएपछि गाईघाट–मुर्कुची–पुँवारे–भुटार–लाफागाउँ खण्डको सडकमा रोकिएका दुई यात्रुवाहक बस केही दिनयता रोकिएका छन् । ती बस निकाल्न सोमबार मात्र सदरमुकामदेखि स्काभेटर पठाइएको हिमाली केन्द्रका महासचिव उमेश बस्नेतले बताए ।

 

बीच बाटोमा अड्किएका २/३ वटा बस तथा ट्रयाक्टर एक दिनअघि निकालिएको छ । यातायात व्यवसायीले आफ्नै खर्चमा स्काभेटर लगेर सडक मर्मत गरी थुनिएका बस र ट्रयाक्टर निकाल्न थालेको बस्नेतले जानकारी दिए ।

 

लाफागाउँ–जाँते खण्डको सडक दुवैपट्टि भत्किएर आउजाउ रोकिएपछि दुई बस सडकमै अलपत्र परेका छन् । सडक बिग्रेर बस बीच बाटोमै रोकिएपछि यात्रुहरू पैदल हिँडेरै गन्तव्यतिर लागेका छन् । बस भने त्यहीँ रोकिएका छन् ।

 

बिग्रेका सडक मर्मत गर्ने क्रम चलिरहेकाले बस निकाल्न केही दिन लाग्न सक्ने बस्नेतले बताए । धेरै ठाउँमा सडक बिग्रे÷भत्केकाले निर्माण गर्दै जाँदा समय लाग्न सक्ने उनको भनाइ छ ।

 

बस रोकिएको ठाउँ भुटारदेखि २०/२५ किलोमिटर उत्तरमा पर्दछ । तर, स्काभेटर त्यहाँसम्म पुग्न आधा दर्जन बढी ठाउँमा मर्मत गर्नुपर्ने भएकाले समय लाग्न सक्ने भएको हो ।

 

स्थानीय तहहरूले मर्मत गर्नुपर्ने सडक समयमै नगर्दा व्यवसायी र यात्रु दुवैलाई सास्ती भएको छ । गाउँ–गाउँमा सरकार भए पनि दायित्व पूरा गर्नेतर्फ जनप्रतिनिधिले चासो नदिँदा सडकको दुरवस्था कायमै रहेको व्यवसायी बताउँछन् ।

 

व्यवसायीका अनुसार वर्षाले सदरमुकामसँगै जोडिएका थुप्रै पहाडी भेगका सडक कामै नलाग्ने गरी भत्किएका छन् । पहाडका सडक बिनाइन्जिनियरिङ बनेका र कच्ची भएकाले सामान्य वर्षाले नै भत्काएर यातायात अवरुद्ध हुन गर्छ ।

 

धेरैजसो सडक माटो काटेर मात्र बनेका कारण सामान्य वर्षामै बगेर भत्कने गरेका छन् भने कतिपय सडकमा नाला नहुँदा बीच भागम पानी जमेपछि गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन् । 

 

छिमेकी खोटाङलाई सोझो यातायातले जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग ठाउँ–ठाउँमा भत्किँदा यातायात अवरुद्ध हुन पुगेको छ भने त्यससँग जोडिएका शाखा–उपशाखा सडक सबै बिग्रिएपछि यातायात अवरुद्ध हुन पुगेको हो ।

 

गाईघाट–दिक्तेल सडकसँग जोडिएर उदयपुरका साविक खाँबु, रौता, आँपटार, रसुवा, बलम्ता, जाँते, ताम्लीछा जोडिएका कच्ची सडक सबै भत्किएर आवागमनमा कठिनाइ भएको छ । त्यस्तै, लिमचुङबुङ गाउँपालिका र रौतामाईका आन्तरिक सडक पनि भत्किएका छन् । 

 

ताप्ली र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडक पनि अस्तव्यस्त छन् । वर्षाले आन्तरिक सडक भत्काएका कारण ताप्ली गाउँपालिका केन्द्र रुपाटारसम्म पुग्नसमेत हम्मे हुने गरेको पालिका अध्यक्ष उद्धवसिंह थापाले बताए ।