close

दिगो विकासको लक्ष्य स्थानीयकरण गर्ने कार्यका लागि जिससलाई जिम्मेवारी दिन आग्रह

दिगो विकासको लक्ष्य स्थानीयकरण गर्ने कार्यका लागि जिससलाई जिम्मेवारी दिन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं– दिगो विकासको लक्ष्य स्थानीयकरण गर्ने कार्यका लागि जिल्ला समन्वय समितिलाई पूर्ण जिम्मेवारी दिन सरोकारवालाले सरकारलाई आग्रह गरेका छन् ।

 

स्थानीय तहमा भएका कामको अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी जिल्ला समन्वय समिति (जिसस)को भएकाले दिगो विकासको लक्ष्यको स्थानीयकरण गरिएका कामको अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी पनि जिससलाई दिन आग्रह गरिएको हो ।

 

जिल्ला समन्वय समिति महासङ्घ नेपालका कार्यकारी महासचिव कृष्णचन्द्र न्यौपानेले सरकारले दिगो विकासको लक्ष्यलाई स्थानीयकरण गर्ने जिम्मेवारी जिल्ला समन्वय समिति महासङ्घलाई दिन आग्रह गरे । उनका अनुसार महासङ्घले ७७ वटै जिल्ला समन्वय समितिको जिल्ला सभामार्फत दिगो विकासको लक्ष्य स्थानीयकरण गर्ने कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्छ । उनले भने, ‘सन् २०१६ देखि २०३० सम्ममा संयुक्त राष्ट्रसङ्घद्वारा निर्धारित दिगो विकासको लक्ष्य हासिल गर्ने सरकारको कार्य जिम्मेवारीलाई स्थानीय तहलाई थप प्रभावकारी भूमिका निर्वाह गराउन जिसस महासङ्घ तयार छ । ’ अहिलेसम्म दिगो विकासको लक्ष्यलाई स्थानीय तहले कसरी कार्यान्वयन गरिरहेका छन् भन्नेबारेमा अनुगमन गर्ने कार्य नभएको गुनासो उनले गरे ।


जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले दिगो विकासका लक्ष्य जिल्लाभित्रका स्थानीय तहलाई कार्यान्वयन गराउन सबै जिल्ला समन्वय समिति तयार रहेको बताए ।  उनका अनुसार अहिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पालिकाले दिगो विकासका लक्ष्य कार्यान्वयन गरिरहेका छन् । थप समन्वय र सहजीकरण जिल्ला समन्वय समितिले गर्ने गरी पूर्ण अधिकार दिन सङ्घीय सरकारलाई वैद्यले आग्रह गर्नुभयो ।


राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले राष्ट्रिय अनुगमन मूल्याङ्कन ऐन आउने क्रममा रहेको र उक्त ऐन आएपछि अनुगमन मूल्याङ्कन गर्ने कार्यमा राष्ट्रिय योजना आयोग थप अधिकारसम्पन्न हुने बताए ।


उनका अनुसार उक्त ऐन जारी भइसकेपछि जिल्ला समन्वय समितिलाई पनि स्थानीयस्तरको आयोजना, परियोजना र कार्यक्रमको अनुगमन मूल्याङ्कन गर्न सक्ने गरी अधिकार प्रदान हुन्छ । उनका अनुसार राष्ट्रिय अनुगमन मूल्याङ्कन ऐनको विधेयक अहिले राष्ट्रिय सभामा छलफलका क्रममा अन्तिम चरणमा छ ।

 

कार्यान्वयन गर्न तयार


संयुक्त राष्ट्रसङ्घद्वारा निर्धारित दिगो विकास लक्ष्य हासिल गर्ने जिम्मेवारी तीनवटै तहको भएकाले त्यसमा स्थानीय तह प्रभावकारी कार्यान्वयन गर्न तयार रहेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन् ।


‘नेपालले दिगो विकासको लक्ष्य हासिल गर्नुभनेको त्यसको उपलब्धि स्थानीय तहको पनि हो,’ काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले भने, ‘दिगो विकासको लक्ष्य, दीर्घकालीन सोच र समग्र विकासको काम स्थानीय तह सङ्घीय सरकारलाई आवश्यक समन्वय गर्न तयार छ ।’ दिगो विकासको लक्ष्य हासिल गर्ने क्रममा स्थानीय तहले के–के गर्नुपर्ने हो, सोको जानकारी स्थानीय तहलाई गराउन उनले आग्रह गरे ।

 

देशहरूबीचको असमानताको न्यूनीकरण, सहर तथा मानव बस्तीलाई समावेशी, सुरक्षित, प्रतिरोधी र दिगो तुल्याउने, दिगो उत्पादन र उपभोगको सुनिश्चितता गर्ने लक्ष्य पनि छ । साथै जलवायुु परिवर्तन र यसका असरको न्यूनीकरणका लागि तत्काल पहल गर्ने, दिगो विकासका लागि समुद्र, समुद्री किनार तथा समुद्री स्रोतको संरक्षण एवं दिगो उपयोग, दिगो वन व्यवस्थापन र जैविक विविधताको संरक्षण, शान्त एवं समावेशी समाजको प्रवद्र्धन, न्यायमा सबैको पहुँच तथा सबै तहमा समावेशी संस्था निर्माण र दिगो विकासको कार्यान्वयन संयन्त्रको सबलीकरण एवं विश्व साझेदारी निर्माण गर्ने दिगो विकासको लक्ष्यमा राखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।