close

योजना निर्माण गर्दा जलवायु परिवर्तनलाई ख्याल गर्न विज्ञको सुझाव 

योजना निर्माण गर्दा जलवायु परिवर्तनलाई ख्याल गर्न विज्ञको सुझाव 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा यो वर्षको विश्व सहर दिवस ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ नारासहित मनाइएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागमा आइतबार कार्यशाला गोष्ठी गरेर दिवस मनाइएको हो ।

 

कार्यक्रममा स्थानीय तहहरू, सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, राप्ट्रिय आवास कम्पनी, नगर विकास कोष, संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम, इन्जिनियरिङ अध्ययन संस्थानलगायत संघ–संस्थाको उपस्थिति थियो । 

 

कार्यक्रमा सहरको विकास, जलवायु परिवर्तन, हरितगृह ग्यास उत्सर्जनलगायत विषयमा छलफल भएको छ । गोष्ठीमा नयाँ विकसित सहर कसरी वातावरणमैत्री बनाउन सकिन्छ भन्नेबारे वक्ताहरूले बोलेका थिए । राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले पनि आफ्नो भनाइ राखे ।

 

 नयाँ सहर विकसित गर्दा र परिवर्तन गर्दा बाहिरका अवधारणलाई नेपालमा ल्याउँदा नेपाली परिवेशअनुसार स्वीकार गर्नुपर्नेमा उनको जोड छ । ‘हाम्रोमा गरिबी, विभेदलगायत धेरै समस्या छन्’, उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय अनुभव ल्याउनुपर्नेछ । तर, जस्ताको तस्तै स्वीकार गर्न सकिँदैन । हाम्रो अवस्थाअनुसार स्वीकार गर्नुपर्छ ।’

 

कार्यक्रममा प्रा.डा. संगीता सिंह, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटालगायतले कार्यपत्र प्रस्तुत गरे । योजना निर्माण गर्दा जलवायु परिवर्तनलाई ख्याल नगरिए भविष्यमा ठूला विपद् आउने प्रा. डा. सिंहको तर्क थियो । 
 

 

तीव्र सहरीकरणलाई अहिलेदेखि नै भोलिको सहर भनेर व्यवस्थित ढंगले योजना बनाएर लैजानुपर्ने उनले बताइन् । कार्यक्रमा जलवायु परिवर्तनका कारणले सहरमा आएका विपतद्लाई पनि उनले उदाहरणको रूपमा प्रस्तुत गरिन् । 

 

नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाले ‘ग्रिन बेसेस’ बारे कार्यपत्र प्रस्तुत गरे ।  उनले सवारी साधनले गर्ने प्रदूषण सम्बन्धमा प्रकाश पारे । यातायातका कारणले नै ३८ प्रतिशत प्रदूषण बढेको उदाहरण दिँदै यसलाई परिवर्तन गर्नु जरुरी रहेको उनको भनाइ छ । ‘हामीले प्रदूषण रोक्न इलेक्ट्रिक बसको योजनामा जानुपर्छ,’ उनले भने, ‘यो सबै हिसाबले राम्रो हुन्छ ।’