close

इन्जिनियरलाई सुरुङमार्ग निर्माण सिकाउँदै सडक विभाग

इन्जिनियरलाई सुरुङमार्ग निर्माण सिकाउँदै सडक विभाग

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमै पहिलो पटक सडक क्षेत्रसम्बन्धी नेपाली इन्जिनियरलाई सुुरुङमार्ग निर्माणबारे तालिम दिइएको छ ।  पहिलो चरणमा १५ जना इन्जिनियरलाई नागढुंगामा जापानी सहयोगमा बनिरहेको सुरुङ मार्गमै सडक विभागले तालिम गराएको हो ।


विदेशी परामर्शदाता र ठेकेदारबाट सीप, ज्ञान, दक्षता प्राप्त गर्ने गरी विभागका इन्जिनियरलाई तालिम दिन सुरु गरिएको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले बताए ।


पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकसहित सुरुङका विज्ञबाट सैद्धान्तिक कक्षा लिने र प्रयोगात्मक रूपमा २.६८ किलोमिटर लामो निर्माणाधीन नागढुंगा सुरुङ मार्गमा लगेर तालिम दिन थालिएको हो ।


‘विभागका करिब ५ सयमध्ये २ सय जना इन्जिनियरलाई तालिम दिन्छौँ,’ उनले भने, ‘यसमा हामीलाई सुरुङ मार्गको ठेकेदार कम्पनी हाजमाले पनि सहयोग गरेको छ । प्रत्येक महिना तालिम सञ्चालन गरेर नेपाली इन्जिनियरको दक्षता बढाउने सोच छ ।’

 

तालिमपछि नेपाली इन्जिनियरलाई आत्मविश्वास बढ्ने र अध्ययनमा रहेका साना सुरुङमार्ग निर्माणको समय परीक्षण गर्न सक्ने क्षमता विकास हुने विभागको ठम्याइ छ ।

 

विभागले सुरुङमार्गको डिजाइनबारे पनि केही दर्जन इन्जिनियरलाई छुट्टै तालिम दिने तयारी थालेको छ । यस्ता तालिमबाट सुरुङ प्रविधिबारे मध्यम स्तरको ज्ञान प्राप्त हुने भएकाले नेपालमै दक्ष सुरुङ इन्जिनियर उत्पादनमा टेवा पुग्ने विभागको विश्वास छ ।

 

सडक मार्गलाई छोट्याउन नेपालमा १०५ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनेको इतिहास छ । अमलेखगञ्ज–हेटौंडा सडक खण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो सुरुङमार्गको भग्नावशेषलाई अहिले बागमती प्रदेश सरकारले जीर्णोद्धार गरिरहेको छ ।

 

सुरुङ प्रविधिमा प्रवेश गरेको सय वर्षपछि मात्रै नेपालले सडक पूर्वाधारमा यसको प्रयोग बढाउने नीति बनाएको छ । तर, यसका दक्ष प्राविधिक भने नेपालमा सीमित मात्रै छन् ।


सडक विभागले चालू आर्थिक वर्ष २०७८/७९ मा थप चार वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउन लागेको छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणका लागि अध्ययन हुनेछ । यो वर्ष बबई–छिन्चु खण्डमा सुरुङमार्ग निर्माणको सम्भावनाबारे अध्ययन गर्न ६० लाख रुपैयाँको बजेट छुट्याइएको छ ।

 

पाल्पाको प्रवास–जोर्ते खण्डमा सुरुङमार्ग बनाउन यो वर्ष विभागले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । यसै वर्ष चितवनको शक्तिखोरबाट धादिङको माझिम्टारसम्म सुरुङमार्ग बनाउन विभागले अध्ययन अघि बढाउने तयारी गरेको छ । यसका लागि बजेट विनियोजन गरेर तयारी सुरु गरिएको निर्देशक जैसीले बताए ।


चेपाङमार्गको दुम्लिङ–वासपाङ खण्डमा पनि सुरुङमार्गको अध्ययन अघि बढाउने कार्यक्रम तय गरिएको विभागले बताएको छ । विभागले काभ्रेको रबिओपीबाट भक्तपुरको ताथली जोड्ने सुरुङमार्ग पनि अध्ययन गर्ने योजना बनाएको छ ।


सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा) को सिद्धबाबामा ११ सय मिटर लामो सुरुङ निर्माणका लागि विभागले ठेक्का गरेर कम्पनी छनोट गर्ने तयारी गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी यो वर्ष ६० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

 

उत्तर–दक्षिण करिडरअन्तर्गत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति माग्न लागिएको विभागले जनाएको छ । यो वर्ष यो सुरुङमार्ग अघि बढाउन २५ करोड बजेट विनियोजन भएको छ ।


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ‘हेडवक्र्स’ भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने जैसीले बताए ।


संघीय सरकारले एकैपटक २३ वटा सुरुङमार्गबारे अध्ययन गरिरहेको छ । विभागले धरान–लेउतीरोड, गोदावरी (ललितपुर)–मानचौर (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न लागेको जैसीको भनाइ छ ।


विभागले पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दुम्कीबास–बर्दघाट खण्डमा पनि ५–६ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गर्दै छ । पोखरा–बागलुङ सडकको हेम्जा–नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै छ । बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययन भएको छ ।


विभागले स्वीस सरकारको सहयोगमा गणेशमान सिंह मार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन गर्दै छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिनेछ ।


टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको डीपीआर तयार गरिँदै छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म –टोखा–छहरे–गुर्जुभन्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) (करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । सोहीअनुसार चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययन भएको छैन ।


जापानको सहयोगमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन भइरहेको छ । संघीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वर र गौशालामा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।


नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–निजगढ द्रुतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाउन डिजाइनको काम भइरहेको छ ।


मकवानपुरमा कुलेखानी–भीमफेदी सडक खण्डमा २५ अर्ब लगानीमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गरेको छ ।