close

६६५ स्थानीय तहमा पुग्यो इन्टरनेट

६६५ स्थानीय तहमा पुग्यो इन्टरनेट

Trulli
ADVERTISEMENT

काठमाडौं– देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत असोज मसान्तसम्म ६६५ स्थानीय तहमा इन्टरनेट जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याकेजअन्तर्गत असोज मसान्तसम्ममा ९४ दशमलव ७३ प्रतिशत स्थानमा उच्चगतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।

 

प्राधिकरणको तथ्याङ्कानुसार १८ प्याकेजमध्ये १६ प्याकेजमार्फत ६५ जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत इन्टरनेट जडान सम्पन्न भएको छ । यस्तै एउटा प्याकेजअन्तर्गत पाँच जिल्लामा ५० प्रतिशतभन्दा बढी जडान सम्पन्न भएको छ । यस्तै चार जिल्लाका तोकिएबमोजिमका स्थानमा ३० प्रतिशतभन्दा बढी ब्रोण्डब्याण्ड इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्येमा हालसम्म १५ हजार २१० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ भने ७७२ स्थानमा इन्टरनेट जडान बाँकी छ ।

 

प्राधिकरणको तथ्याङ्कानुसार ७०२ स्थानीय निकायमध्येमा असोज मसान्तसम्म ६६५ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ भने ३७ स्थानीय तहमा जडान भइरहेको छ । यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्येमा हालसम्म पाँच हजार ६०० स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्येमा हालसम्म चार हजार ९४६ स्थान र चार हजार १२२ स्वास्थ्य संस्थामध्येमा हालसम्म तीन हजार ९८२ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।

 

कूल ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार रकममध्येमा हालसम्म  ३ अर्ब ८९ करोड ७० लाख रकम ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार  उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन ।