close

त्रियुगा नगरका १६ वटै वडामा सडक कालोपत्रे योजना

त्रियुगा नगरका १६ वटै वडामा सडक कालोपत्रे योजना

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि बनाएको सडक ग्राभेल योजना सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको विनियोजन बजेटबाट नगरका १६ वटै वडामा सडक ग्राभेल गर्ने कार्यक्रम वडा नम्बर ५ देउरीबाट सुरु गरेको हो । 

 

त्रियुगा नगरपालिकाले स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो सहर : समुन्नत समावेशी समृद्ध त्रियुगा नगर नारालाई आत्मसात् गर्दै सडक ग्राभेल योजना अघि सारेको हो । नगरभित्रका सडकमा नाला र ग्राभेल गर्ने काम बाँकी रहेका ठाउँमा सबै वडामा तत्काल सुरु गर्न लागिएको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए ।

सहरसँग जोडिएको गाउँलाई सहर बनाउने योजनाअनुरूप सडक कालोपत्रे उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यस्तो बताएका हुन् । ‘नगरको सबै वडा सहर बनाउने हाम्रो योजना छ । भोलिका दिनमा गाउँ रहँदैन । सबै सहर हुने भएकाले गाउँ–गाउँमा रहेका स–साना सडकलाई ग्राभेल तथा पिच गर्ने योजना छ । सडक ग्राभेल नगरपालिकाको महत्त्वपूर्ण अभियान हो’, नगरप्रमुख चौधरीले भने ।


गाउँ–गाउँका स–साना सडक निर्माण गरी सहर बनाएर नगरलाई उपमहानगर बनाउने योजना रहेको चौधरीले जानकारी दिए । उपप्रमुख देवीकुमारी चौधरीले गाउँ–गाउँमा रहेका साना सडकलाई ग्राभेल गर्ने योजनाअनुरूप देउरीबाट सुरु गरिएको बताइन् । 


सडक ग्राभेल गर्न सडक क्लियर भएको हुनुपर्ने र ८ मिटरको हुनुपर्ने उनको भनाइ छ । नगरपालिकाले सबै वडामा सडक कालोपत्रेका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललगायत उपस्थित थिए ।