close

तानसेनको श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा

तानसेनको श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–५ कैलाश नगरमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाल्पाका कला संस्कृति तथा ऐतिहासिक पक्षको प्रचारप्रसार गरी पर्यटक भित्रियाउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको बताइएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारले  ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले डबलीको काम थालेको हो । 

 

पाल्पामा निर्माणाधीन डबली सञ्चालनमा आएपछि यहाँको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसर सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले बताए । 

 

नयाँ पुस्ताका युवाले बिर्सिएको कला, संस्कृतिसम्बन्धी डबलीमार्फत ज्ञान अभिवृद्धि हुने र कला, सस्कृतिसँग जोडेर स्थानीयवासीको आयआर्जन हुने तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताए । विसं २०७६ असार ८ गते काम सुरु गरी विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले कोभिडका कारण देखाएर आलटाल गरिरहेको बताइएको छ । अबको तीन महिनाभित्र सबै काम पूरा हुने बताइएको छ । निर्माण सम्बन्धी सबै काम पूरा भएको र केही सामान्य काम मात्र बाँकी रहेको निर्माण कम्पनीका प्रतिनिधि दीपक पालले बताए । 

 

पर्यटकीय गन्तव्यका रुपमा परिचित पाल्पामा रानी महल, पाल्पा दरबार, भैरव मन्दिरलगायतका ऐतिहासिक सम्पदा अवलोकन गर्न पर्यटक पाल्पामा घुमफिर गर्छन् । यो डबलीबाट पाल्पाका विभिन्न जातजातिको कला, संस्कृति प्रदर्शन गरेर पर्यटन आकर्षण गरी जिल्लामा पर्यटकको चहलपहल ल्याउन थालिएको हो ।