close

प्रदेश गौरवका सडक आयोजनाको काम सुस्त

प्रदेश गौरवका सडक आयोजनाको काम सुस्त

Trulli
ADVERTISEMENT

दाङ– दाङको घोराही उपमहानगर वडा नम्बर ३ कुइरेपानीदेखि वडा नम्बर १६ सर्रा जोड्ने कुइरेपानी–सर्रा बाइपास सडकलाई प्रदेश गौरवको आयोजनाभित्र समावेश गरिएको छ । कुनै समय घोराहीको रिङरोडभित्र पर्ने उक्त सडक प्रदेश सरकार स्थापनासँगै घोराही बजारमा सवारी चाप कम गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त सडकलाई बाइपासका रूपमा अघि बढायो । 


तर, तीन वर्षअघि काम सुरु भए पनि सडक निर्माणको गति सुस्त छ । प्रदेश सरकारको गौरवको सडक आयोजनाका रूपमा रहे पनि बजेट अभावसँगै आवश्यक पर्ने जग्गा प्राप्तिको काम अघि नबढ्दा निर्माणले गति लिन सकेको छैन ।

 

बाइपास सडकको मुख्य द्वारमै जग्गा प्राप्ति गर्न नसक्दा निर्माणको काम सुस्त भएको पूर्वाधार विकास कार्यालय घोराहीका सूचना अधिकारी चन्द्रबहादुर शाहले बताए । 

 

उनका अनुसार बाइपास सडकलाई घोराही–लमही सडक खण्डमा जोड्ने सडकको निकास टुंगो लाग्न सकेको छैन । मुख्य द्वारमा सडक टुंगो नलाग्दा निर्माणको काम सुस्त बनेको हो । ‘बाइपास सडक निर्माणका लागि डिपिआर बनाउनेदेखि सिस्ने खोलामा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य खोलामा कल्भर्ट निर्माणदेखि ९ किलोमिटर सडकमध्ये ६ किलोमिटर ग्राभेल गर्ने भइसकेको छ’, सूचना अधिकारी शाहले भने, ‘तर सडकको मुख्य खण्डमै जग्गा प्राप्ति नहुँदा निकास जामजस्तै भएको छ ।’


उनका अनुसार बाइपास सडकको प्रवेश द्वारमै पुल भएकाले सीधा जोड्न नमिल्ने र घुमाएर अन्यत्रबाट लग्दा व्यक्तिको जग्गा भएकाले निर्माणमा समस्या भएको हो ।  कुइरेपानीमा सडकलाई घोराही–लमही खण्डमा जोड्न करिब २८० मिटरसम्म जग्गा खरिद गर्नुपर्ने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

तर, उक्त जग्गा निजी व्यक्तिको नाममा भएकाले समस्या भएको सूचना अधिकारी शाहले बताए । ‘जग्गा प्राप्तिका लागि स्थानीय सरकार, सम्बद्ध निकायसँग पटक–पटक छलफल भए पनि निकास निस्कन सकेको छैन ।’ 

 

समस्या समाधानका लागि प्रदेश सरकारले घोराही उपमहानगरलाई पहल गरिदिन आग्रह गरे पनि समाधान हुन नसकेको शाहले जानकारी दिए । सडक विस्तारका लागि पहिलो वर्ष ६ किलोमिटर ग्राभेल गर्नेदेखि उक्त खण्डका विभिन्न स्थानमा करिब ४२ वटा बक्स कल्भर्ट बनाउने काम भएको कार्यालयले बताएको छ ।

 

कोरोना महामारीका कारण र जग्गा प्राप्तिमा समस्या भएपछि गत आर्थिक वर्षमा यो योजनामा बजेट खर्च हुन सकेन । आर्थिक वर्ष ०७५÷७६ मा सडकका लागि १० करोड रुपैयाँ छुट्याइए पनि करिब ६ करोड मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।  गत वर्ष सडकको डिपिआरलगायत अरू प्राविधिक काम सकिएको बताउँदै सूचना अधिकारी शाहले भने, ‘जग्गा प्राप्तिको काम सकिएलगत्तै सडक विस्तारले गति लिनेछ ।’


प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको करिब ९ किलोमिटर कुइरेपानी–सर्रा बाइपास सडकका लागि कार्यालयले करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको जनाएको छ ।  प्रदेश सरकारले यो आर्थिक वर्ष उक्त सडकका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।