close

सिसहनियामा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन

सिसहनियामा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन

Trulli
ADVERTISEMENT

दाङ/सिसहनिया–लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकामा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन गरिएको छ ।  प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले मुख्य कार्यालय उद्घाटन गरी मन्त्रालयको नियमित सेवा सुरु भएको घोषणा गरे । 


मन्त्री थारुले अब छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थायी राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारुले प्रदेश सरकारको निर्णयअनुसार सबैको सहयोगमा राजधानीका संरचना बनाउन सहयोग गर्नुपर्ने आवश्यकतमा औँल्याए । संघ र प्रदेश सरकारको नीतिअनुसार सबै पालिकामा १५ शय्याको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको उनको भनाइ छ । 


स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिअनुसार सरकारले काम गरिरहेको उनले जानकारी दिए ।   मन्त्री थारुले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले संघसँग खोप व्यवस्थाका लागि पहल गरिरहेको बताए । कार्यक्रममा राज्यमन्त्री विमलाकुमारी खत्रीले स्थायी राजधानीमा मन्त्रालयको काम सुरु भएसँगै नागरिकले सरल र सहज रूपमा सेवा पाउन सक्ने बताइन् ।


 
मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवामूलक संस्था भएकाले सेवा दिने काममा कमी हुन नहुने बताए । 
निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशाला कार्यालय स्थापना गरी मन्त्रालयलाई पूर्ण रूपमा सेवा दिन तयार पारिने उनको भनाइ छ । प्रदेशका १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काम हुँदै आएको डा. देवकोटाले जानकारी दिए । 

 


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्थायी राजधानीका लागि धेरै पहलपछि सफलता पाए पनि कार्यालय स्थानान्तरण सुस्त गतिमा भएको बताए । राजधानी व्यवस्थापनका लागि राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट सहयोग हुने उनले प्रतिबद्धता जनाए । 
कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावत, खानेपानीका अध्यक्ष शान्तराज पन्थी, उपसचिव राजेन्द्रप्रसाद पन्थीलगायतले शुभकामना दिए ।  सो अवसरमा स्थानीय जनप्रतिनिधि, संघ– संस्था, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यंसेविकालगायत उपस्थित थिए ।