close

गाईघाट–दिक्तेल सडकको सुनकोसीमा अस्थायी बेलीब्रिज जडान

गाईघाट–दिक्तेल सडकको सुनकोसीमा अस्थायी बेलीब्रिज जडान

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुर र खोटाङ सदरमुकाम जोड्ने सडकअन्तर्गत सुनकोसीको फोक्सिङटारमा सातौँ पटक अस्थायी बेलीब्रिज जडान गरिएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान बिहीबार सम्पन्न भएको हो ।

 

सगरमाथा लोकमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ५ फोक्सिङटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको हो ।  गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ७८ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले अस्थायी बेलीब्रिज जडान गर्ने जिम्मा लिएको थियो । सुनकोसी नदीमा पानीको बहाव घटेसँगै हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा ५० मिटर लम्बाइको अस्थायी बेलीब्रिज जडान गरिएको हो । 

 

खोटाङलाई तराईसँग सीधा यातायातको पहुँच पुर्‍याउन  ७ वर्षदेखि फोक्सिङटारमा बेलीब्रिज जडान हुँदै आएको छ । हिउँदको करिब ५ महिना दुवै जिल्ला छुने गरी बेलीब्रिज जडान गरिँदै आएको छ ।  गाईघाटबाट १३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलीब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सीधै गाईघाट हुँदै धरान, विराटनगरलगायत सहर जाने सीधा र छोटो बाटो खुलेको छ ।

 

अस्थायी बेलीब्रिजका कारण उदयपुरबाट खोटाङसम्म सीधा यातायात सञ्चालन भएको छ । बेलीब्रिजले सस्तोमा दैनिक उपभोग्य सामान सीधै दुई जिल्लाका नागरिकको घरआँगनमै पुग्ने गरेको छ । फोक्सिङटारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नुपर्ने बाध्यता थियो ।

 


समयमा पक्की पुल निर्माण नहुँदा फोक्सिङटारमा बेलीब्रिज राख्ने र हटाउने काममा मात्रै सरकारको अहिलेसम्म ५ करोड रुपैयाँ बढी खर्च भइसकेको छ । सुनकोसी नदीमा सडक विभागले अघिल्ला वर्षझैँ यो वर्ष पनि अस्थायी बेलीब्रिज निर्माण गरेकाले खोेटाङबाट तराई झर्न सहज भएको छ ।

 

सुनकोसी नदीमा पानीको बहाव घटेसँगै करिब ५ महिनासम्म सञ्चालन हुने गरी बेलीब्रिज निर्माण गरिएको हो । जिल्ला सदरमुकाम जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको सो सडकअन्तर्गतको सुनकोसीमा स्थायी पक्की पुल निर्माण नहुँदा हिउँदको समय बेलीब्रिजबाट सवारी आउजाउ हुने गर्छन् । 

 


सुनकोसी नदीमा स्थायी पक्की पुल अभावमा जोडिन नसकेका खोटाङ र उदयपुरलाई हिउँदयाममा बेलीब्रिजको सहायता लिनुपरेको हो । गाईघाट–दिक्तेल सडकको उदयपुर खण्डको ५२.५ किलोटिरको दूरीमा बेलीब्रिज निर्माण गरिएपछि सर्वसाधारणलाई गाईघाटदेखि दिक्तेलसम्मको आउजाउमा सवारी साधन प्रयोग गर्न सहज भएको छ । 

 


स्थायी पुल निर्माण जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण पुल नबनेकाले दुवै जिल्लाका सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सुनकोसीमा पुल नबल्दा खोटाङ र उदयपुर सीधा यातायात बर्खाको समय ठप्प हुने र हिउँदमा बेलीब्रिज पुल जडान भई सञ्चालनपछि यातायात सञ्चालन हुँदै आएको छ ।

 

स्थायी पुल निर्माण जिम्मा लिएको निर्माण कम्पनीले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको जिम्मा गौरा, पार्वती जेभी प्रालि काठमाडाैँले लिएको छ ।  ०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु भएको गाईघाट–दिक्तेल सडक योजनाले गाईघाट–दिक्तेल सडक निर्माण गरिसकेको छ । सडक निर्माण भएको २७ वर्ष भए पनि पुल नबन्दा गाईघाट–दिक्तेलमा सीधा सडक यातायात सञ्चालन हुने सकेको छैन ।

 

गाईघाटबाट दिक्तेलसम्म सीधा यातायात सञ्चालन हुने गरी फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपालप्रसाद खकुरेलले बताए ।

 

दिक्तेलबाट फोक्सिङटार पुगेका यात्रुलाई रसुवाघाटस्थित झोलुंगे पुल तर्नुपर्र्ने बाध्यता छ । हिउँदभर सञ्चालन गर्ने र बर्खामा झिक्ने गरी फोक्सिङटारमा ७ वर्षदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाइको अस्थायी बेलिब्रिज जडान गरिँदै आएको छ । 

 

पूर्वी सहरबाट भित्रिने सिमेन्ट, रड, जस्तापाता, इँटालगायत निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु सोही मार्ग भएर खोटाङका विभिन्न पालिकासम्म पुग्ने गरेको छ । सुनकोसी नदी वारपार गर्न असहज भइरहेको अवस्थामा अस्थायी रूपमै भए पनि एकतर्फी करिब २५ टन भार वहन क्षमताको वारिपारि दुवैतर्फ एप्रोच रोडसहितको बेलीब्रिज जडान गरिएको योजना कार्यालय प्रमुख खकुरेलले जानकारी दिए ।