close

पूर्वाधार विकासमा फड्को मार्दै फिदिम नगरपालिका

पूर्वाधार विकासमा फड्को मार्दै फिदिम नगरपालिका

Trulli
ADVERTISEMENT

पाँचथर– जनप्रतिनिधि निर्वाचित भएको करिब साढे चार वर्षमा फिदिम नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगर उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठ) ले तयार पारेको प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धि प्राप्त भएका हुन् । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचनाको निर्माण, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास, सुशासन प्रवद्र्धनलगायत कार्यमा नगरपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको दाबि गरिएको छ । 

 

नगरपालिकाले नगर चक्रपथ निर्माणको अवधारणा ल्याई १४ वटै वडामा मुख्य बस्तीलाई जोड्न सडकको २१५ किमी नयाँ ट्र्याक विस्तार गरेको छ । यस्तै सडक स्तरोन्नतिअन्तर्गत १८७ किमी सडकको चौडाइ वृद्धि गरिनुका साथै ३.५ किमी सडक ग्राभेल, आठ किमी सोलिङ, २.१७ किमी कालोपत्र र १.४५ किमी सडक सतह ढलान सम्पन्न भएको छ । 

 

यस्तै मुख्य सडक संरक्षण र दिगोपनाका लागि छ किमी नाली निर्माण, ३५ वटा कजवे कल्भर्ट निर्माण र चार वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । यी समग्र कार्यसहित वडाले गरेको प्रयासबाट नगरपालिकाभित्र ८६० किमी सडक संरचना सवारीका साधन सञ्चालन योग्य बनेको फिदिम नगरपालिकाले जनाएको छ । उक्त अवधिमा  नगरपालिकाले प्रशासकीय भवनसहित ११ वटा वडा कार्यालय भवन, १९ वटा सामुदायिक विद्यालयका भवन, १८ वटा सामुदायिक भवन, सात वटा स्वास्थ्यचौकी भवन र एउटा पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । 

 

चालू आर्थिक वर्ष २०७८÷०७९ पछि फिदिममा वडा नं ४ बाहेक सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन हुनेछन् । यस अवधिमा विद्यालय र सार्वजनिक स्थानमा गरी फिदिम नगरपालिकाले ३९ वटा शौचालय निर्माण गरेको छ । तर जग्गा अभावका कारण फिदिम बजार क्षेत्रमा भने सार्वजनिक शौचालय निर्माण गर्न नसकिएको उक्त कार्यालयले जनाएको छ । 

 

यस्तै  नगरपालिकाले ८.५ किमी पर्यटक पदमार्ग र ती पदमार्गमा छ वटा पर्यटक विश्राम घर र टहरा निर्माण गरेको छ । फिदिम–२ मा एउटा भ्यूटावर तथा एउटा हेलिप्याड निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । साढे चार वर्षका अवधिमा नगरपालिकाले १३.५ किमी पक्की साना सिञ्चाइ कुलो निर्माण गर्नुका साथै १५ वटा कुलो मर्मत गरी ३५० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइको प्रबन्ध गरेको छ । यस्तै यस अवधिमा कमजोर आर्थिक अवस्थाका १०९७ घरपरिवारको फुसका छानो हटाई जस्तापाता वितरण गरिएको, व्यक्ति तथा सङ्घसंस्थालाई १८३३ बण्डल जस्तापाता वितरण गरिएको र खानेपानी सुविधा पुर्‍याउन १४६ किमी खानेपानी पाइप वितरण गरिएको उपप्रमुख प्रधानले जानकारी दिइन् । 

 

कृषि तथा पशुपक्षीको व्यावसायिक विकासमार्फत नगरवासीको आम्दानी वृद्धिका लागि नगरपालिकाले एक हजार २०० थान प्लाष्टिक टनेल, ८५ थान प्लाष्टिक पोखरी र १५० थान मिनिटिलर वितरण गरेको छ । 

 

यस्तै नगरभित्रका १४ वटै वडामा कम्तीमा एक वटा पर्ने गरी कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याई व्यावसायिक उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ । यस्तै फिदिम नगरपालिकाले यस अवधिमा पाँच वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुका साथै दुई स्थानमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । 

 

नगर विकास पाश्वचित्र तयार पार्नुका साथै नगरपालिकाले नगर आवधिक योजनासमेत तयार पारेको छ । यस्तै पर्यटन विकासका लागि लब्रेकुटी–सिलौटी पर्यटकीय गुरुयोजना, फाल्गुनन्द सर्किट गुरुयोजना, भ्यूटावर पदमार्गलगायत योजना तयार पारेको जनाएको छ । फिदिम नगरपालिकाले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यको अनुशरण गर्दै स्थानीयस्तरमा ‘समृद्ध शहर, फिदिम नगर’को परिकल्पना र ‘नगरवासीको सपना, समग्र समृद्धिको स्थापना’ नामको अभियान अगाडि बढाएको छ । नगरपालिकामा १४  वडा छन् । यस नगरमा साविकको नगरोन्मुख फिदिम गाविससहित चोकमागु, सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गीन र लुङरुपा गाविस तथा साविक याङ्नाम गाविसको आधा भाग समेटिएको छ । नगरपालिकाको कूल जनसङ्ख्या ४९ हजार २०१ छ ।