close

इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा 

इमाडोल–लामाटार सडक निर्माण अन्तिम चरणमा 

Trulli
ADVERTISEMENT

काठमाडौं– विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडकको काम अन्तिम चरणमा पुगेको छ । झन्डै पाँच वर्ष पहिले थालिएको सो सडक विस्तारको काम ९५ प्रतिशत सकिएको हो ।  सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भए पनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । 

 

पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । विगत आर्थिक वर्षमा स्थानीयको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो ।   

 

३ वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले बताएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायत पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । 

 

उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ । आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशीष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरक–फरक समय ठेक्का सम्झौता भएको थियो ।  एउटा ठेक्का सम्झौता ०७३ र दुई ठेक्का ०७४ मा भएका थिए ।   

 

आयोजनाले उपत्यकाका १० सडक विस्तारको काम गरिरहेकामा अहिलेसम्म २ वटा सडक मात्रै सम्पन्न भएका छन् । पहिलो वर्ष जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण सुरु हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् ।  आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ ।