close

सडक बनाउन हेलिकोप्टरले बोक्यो डोजर

सडक बनाउन हेलिकोप्टरले बोक्यो डोजर

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम–रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १ मा सडक निर्माणका लागि हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको छ । सडक सञ्जालसँग नजोडिएको नगरपालिकाको वडा नम्बर १ उमोखोलामा सडक निर्माणका लागि हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको हो । भौगोलिक रूपमा विकट मानिने यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न सडक निर्माण सामग्री डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । 

 

सडक सञ्जालसँग नजोडिएको यो क्षेत्रमा नगरपालिकाले डोजर ढुवानी गरेको छ । नगरप्रमुख गोर्खबहादुर केसीले भने, ‘नगरपालिकाको सबैभन्दा विकट मानिने उमोखोलालाई तत्काल सडक सञ्जालसँग जोड्दै छौँ । त्यहाँको भूगोलका कारण हेलिकोप्टरमार्फत शुक्रबारदेखि डोजर ढुवानी गर्दै छौँ ।’ नगरप्रमुख केसीका अनुसार हालसम्म नगरपालिकाभित्र ३ सय किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । 

 

बिहीबार नगरपालिकाको वडा नम्बर ३ स्थित खदीमा पुगेको श्री एयरलाइन्सको नाइन एन एडिएम हेलिकोप्टरबाट शुक्रबारदेखि डोजर ढुवानी गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए ।

 

अप्ठेरो भूगोलका कारण सर्वसाधारणले सडक खन्न सम्भव नभएपछि कोमासु कम्पनीको डोजर वडा नम्बर ३ खदीबाट १ नम्बर वडामा हेलिकोप्टरबाट ढुवानी गरिएको घर्तीले बताए ।

 

अब उमोखोलादेखि खदीसम्मको सडक निर्माण हुनेछ । उक्त योजना साझेबगर, चैतेखारा, बारिङे सडकअन्तर्गत पर्दछ । यसअघि पनि नगरपालिकाको वडा नम्बर २ का विभिन्न भूभागमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरिएको थियो ।