close

सुनकोसी मरिण डाइभर्सन निर्माण अवरुद्ध 

सुनकोसी मरिण डाइभर्सन निर्माण अवरुद्ध 

Trulli
ADVERTISEMENT

सिन्धुली–मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।


भर्खरै निर्माण सुरु भएको आयोजनामा काम गर्ने मजदुरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माण बन्द भएको छ ।


आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदुर पूर्णबहादुर विकले बताए । उनले भने, ‘सुनकोसी–मरिण डाइभर्सनमा आफूले दैनिक ८ घन्टा काम गरेबापत आयोजनाले सुक्खा ५८० रुपैयाँका दरले पारिश्रमिक दिने गरेको छ । आयोजनाको पारिश्रमिकले जीवन धान्नै मुस्किल हुने गरेको छ ।’


आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घन्टा काम गरेपछि डेढ घन्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दसैँ बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईंले बताए । माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ ।

 

आयोजनामा मजदुर ११०, मिस्त्री ५०, मेकानिक ८, अपरेटर २०, वेल्डर ७, दोभाषे ४, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० मजदुर कार्यरत रहेको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनीका प्रशासन प्रमुख मिस्टर लूले जानकारी दिए ।


सुनकोसी–मरिण डाइभर्सन राष्ट्रिय स्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदुरलाई तलब दिँदै आएको लूले बताए । आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदुरले शुक्रबारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् ।  मजदुर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन ।