close

चैतन्यबासीको दशकौँ पुरानो पुल सपना पूरा हुँदै

चैतन्यबासीको दशकौँ पुरानो पुल सपना पूरा हुँदै

Trulli
ADVERTISEMENT

कैलाली– १ किलोमिटरको दूरीमै ६ लेन सडक भए पनि खोलामा पुल नहुँदा उक्त राजमार्गसँग चैतन्यपुर जोडिन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा पर्ने उक्त बस्ती मनहरा नदीका कारण ६ लेन सडकसँगै अत्तरिया बजारसँग पनि जोडिन सकेको छैन । तर, हाल उक्त नदीमा पुल निर्माण हुन थालेपछि भने सो क्षेत्रका स्थानीयको दशकौँ पुरानो पुलबाट यात्रा गर्ने सपना पूरा हुने क्रममा छ ।  स्थानीय दिलबहादुर कुँवरले ०४२ देखि चैतन्यपुुरबासीको समस्या पुल बनिरहेकोमा अब भने निर्माण हुने आस पलाएको बताए । 

 

दशकौँदेखि यस क्षेत्रका नागरिकले पुल निर्माणको माग गर्दै आएकामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय नवराज आचार्य पुल निर्माण अन्तिम चरणमा पुगेपछि यहाँका स्थानीयलाई आउजाउ गर्न सहज हुने बताउँछन् । विगतमा पुल नहुँदा धेरै सास्ती भोगेकामा पुल बनेपछि सहज हुने उनको भनाइ छ । ‘पुल नहुँदा चैतन्यपुरबासीले उत्पादन गरेका तरकारी बजार ल्याउन समस्या हुने गरेको थियो,’ उनले भने, ‘बर्खामा आउजाउ गर्न निकै समस्या थियो ।’  हाल उक्त नदीमा करिब ६० मिटर लम्बाइको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 


पुलको तत्कालीन समय संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले २१ मंसिर ०७६ मा शिलान्यास गरेका थिए । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी रमन केएस जेभीसँग ६ करोड ७ लाख १ हजार ९ सय ७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

पुल निर्माण अवधि सकिए पनि कोरोना महामारीका कारण देखाउँदै म्याद थप गरेर निर्माण जारी छ । सुपर स्ट्रक्चर (ढलान) को काम मात्रै बाँकी रहेको पुलमा हाल ४० मिटरमा ढलानको काम सकिएको छ भने २० मिटरमा ढलानको काम बाँकी छ । पुलको हाल करिब ७५ प्रतिशत निर्माण सम्पन्न भएको गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले बताए । 


निर्माण कम्पनी रमन केएसका सञ्चालक धु्रव कुँवर पुल यसै वर्षभित्र सञ्चालनमा ल्याइने बताए । कोरोना महामारीका कारण ढिलाइ भए पनि अब भने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।  पुलको शनिबार अवलोकन गर्दै एमाले सचिव लेखराज भट्टले यस क्षेत्रका नागरिकको चाहना अब पूरा हुने बताए ।

 

 
‘म यो क्षेत्रको स्थानीय पनि हो । केटाकेटी बेलादेखि नै यो नदीमा के–के समस्या थिए । म आफैंले बेहोरेको हुँ,’ उनले भने, ‘चैतन्यपुरबासीलगायत यस क्षेत्रका सबै नागरिकले पुल निर्माणमा दबाब दिएपछि भौतिक पूर्वाधार मन्त्रालयबाट रकम विनियोजित गरेर पुल निर्माण काम अगाडि बढेको हो ।’ 


उनले विगतमा पुल निर्माणका क्रममा केही अवरोध भए पनि हाल निर्माण दु्रत गतिमा अगाडि बढेकामा खुसी लागेको बताए । पुल निर्माणपछि अत्तरियामा रिङरोड निर्माण योजनालाई जोड्ने उनको भनाइ छ ।  उनले भने, ‘यो पुलले नगरपालिकाले परिकल्पना गरेको रिङरोडलाई पनि जोड्छ । अत्तरिया–धनगढी करिडोर निर्माण भए महत्त्वपूर्ण भूमिका खेल्छ ।’ 


सचिव भट्टसँगै पुल अवलोकन गर्न पुगेका एमाले गोदावरी नगरपालिका इन्चार्ज रामप्रसाद चौधरीले पुल निर्माणपछि यस क्षेत्रका नागरिकको वर्षौंदेखिको सास्ती हट्ने बताए ।  पुल निर्माण नहुँदा विगत वर्षमा धेरै जनाले ज्यानसमेत गुमाएकाले पुल निर्माण अगाडि बढ्नु स्थानीयका लागि खुसीको कुरा भएको उनको भनाइ छ ।

 

पुलले नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ लाई जोड्नेछ । पुल निर्माणाधीन अवस्थामा रहे पनि हाल सो क्षेत्रका स्थानीले खोलामा काठे पुल निर्माण गरेर ओहोरदोहोर गर्दै आएका छन् ।