close

ध्वंसबाट निर्माणमा विप्लव समूह : बैजनाथ खोलामा बनायो अस्थायी सडक र पुल

ध्वंसबाट निर्माणमा विप्लव समूह : बैजनाथ खोलामा बनायो अस्थायी सडक र पुल

Trulli
ADVERTISEMENT

उदयपुर– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठन विस्तारका क्रममा उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ वडा बीच भएर बग्ने बैजनाथ खोलामा अस्थायी पुल निर्माण गरेको छ । 


संसदीय व्यवस्था असफल भएको निष्कर्षसहित वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमतसंग्रहको नारासहित संगठन विस्तारमा रहेको विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय जनताको मन जित्ने प्रयास गरिरहेको छ ।

 

उदयपुरका सरकारी कार्यालयदेखि सडकसम्म कुचो लगाएर सरसफाइ अभियान चलाएको पार्टीले बैजनाथ खोलामा ह्युमपाइपसहितको कच्ची पुल निर्माण गरिरहेको हो । 

 

उदयपुर संगठन कमिटीको अगुवाइमा कटारी नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने सोमबारेस्थित बैजनाथ खोलामा ह्युमपाइपसहितको कल्भर्ट निर्माण गर्दै स्थानीयलाई सहज बनाइदिएको हो । स्थानीयले खोला तर्न पुल अभाव झेलिरहेका बेला अस्थायी पुल बनाएको जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले जानकारी दिए ।

 

स्थानीयलाई विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, बजार आउजाउ गर्न समस्या भएको देखिएपछि खोलामा अस्थायी पुल निर्माण गरिएको उनको भनाइ छ ।  पार्टीले आफ्नै प्रयासमा स्रोत जुटाएर खोलामा दुई वटा ह्युमपाइप बिछ्याएर दायाँबायाँ बालुवा, गिटी पुरेर कच्ची सडक निर्माण गरिएको पार्टी जिल्ला सेक्रेटरी पौड्यालले बताए । 

 

उनका अनुसार खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर २ सय मिटर लम्बाइ र ५ मिटर चौडाइको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको छ । त्यसका लागि १५ घन्टा जेसिबीको प्रयोग भएको छ भने पौड्यालसहित २१ नेता कार्यकर्ताले श्रमदान गरेका हुन् । वडा कार्यालय र नगरपालिकालाई पटक– पटक पुल बनाउन आग्रह गर्दा पनि जनप्रतिनिधिले नटेरेपछि पार्टीले नै निर्माणमा अग्रसरता लिएको उनको भनाइ छ ।


खोलामा पुले अभावमा वडा नम्बर ७ को रिस्कुमा पर्ने जनप्रेमी माविमा अध्ययनरत विद्यार्थीलाई बिहान–बेलुका खोल तरेर आउजाउ गर्नुपर्ने बाध्यता छ । दुवै वडाबासीका लागि रिस्कुमै निर्मित प्रहरी चौकी र स्वास्थ्य चौकी जान पनि सेवाग्राही बैजनाथ खोला तर्नुपर्छ । दीर्घकालीन समाधानका लागि पुल निर्माण नै अन्तिम विकल्प भएको वडासचिव कृष्णप्रसाद निरौलाले बताए ।