close

कोहलपुर भ्युटावर निर्माण अन्तिम चरणमा

कोहलपुर भ्युटावर निर्माण अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा सुविधासम्पन्न भ्युटावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घन्टाघरसहितको १० तले सुविधासम्पन्न सो भ्युटावर निर्माण अन्तिम चरणमा पुगेको हो । 

 

लिफ्टसहितको सुविधासम्पन्न भ्युटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले बताए । उनका अनुसार भ्युटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ । 

 

नगरप्रमुख रावतले १० तलाको उचाइसहित निर्माण भएको भ्युटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्युटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए । 

 

५ करोड ८८ लाख रुपैयाँ लागतमा अत्याधुनिक भ्युटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्युटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । 

 

भ्युटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ९ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्युटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतराले जानकारी दिए ।

 

भ्युटावर पुग्न एक पटक १५ जना जान सक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्युटावरमा दृश्यावलोकनका लागि एक पटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे । विगतमा कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण केही प्रभावित भए पनि अहिले काम भइरहेको उनले बताए । 

 

आउँदो २५ माघसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप ६ महिना म्याद थपको माग भएको छ ।  भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अन्तिम फिनिसिङ गर्न म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे । 


निर्माण नसकिँदै भ्युटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्युटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । उनले भने, ‘१० तले सुविधासम्पन्न यो भ्युटावर सर्वसाधारणका लागि आकर्षक हुने विश्वास लिएका छौँ ।’ उनका अनुसार नगरपालिकाले सुरु गरेको ठूला आयोजना निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।