close

दिक्तेल बजारमा ‘फायर हाइड्रेन्ट गेटभल्भ’ जडान 

दिक्तेल बजारमा ‘फायर हाइड्रेन्ट गेटभल्भ’ जडान 

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जडान गरिएका ‘फायर हाइड्रेन्ट गेटभल्भ’ परीक्षण सफल भएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत १० स्थानमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरिएको हो ।

 

खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि मङ्गलबार दिक्तेलस्थित रत्नपार्कमा जडान गरिएको फायर हाइड्रेन्ट गेटभल्भ परीक्षण गरिएको थियो । पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा जडान गरिएका फायर हाइड्रेन्ट गेटभल्भ परीक्षण सफल भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

 

दिक्तेल बजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी विभिन्न १० ठाउँमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । ‘दिक्तेल बजारमा सञ्चालन गरिएको सहरी खानेपानी आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको छ,’ उनले भने , ‘निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको पाइपमा फायर हाइड्रेन्ट गेटभल्भ जडान गरेर १०० मिटर वरपरको क्षेत्रमा हुने आगलागीका घटनालाई सहजै नियन्त्रण गर्न सकिन्छ  ।’

 

जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका सो बजारमा बर्सेनि आगलागीका घटना हुँदा लाखौँको क्षति हुने गरेको छ । हाइड्रेन्ट गेटभल्भ जडान गर्नका लागि नगरपालिकाका तर्फबाट रु १५ लाख र बाँकी सहरी खानेपानी आयोजनाको बजेट लगानी रहेको जनाइएको छ । 

 

विशेष किसिमको पाइप जडान गरिएको फायर हाइड्रेन्ट गेटभल्भमार्फत करिब १० मिनेटमै एउटा दमकल (बारुणयन्त्र)मा पानी भर्न सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका र सहरी खानेपानी आयोजना उपभोक्ता समितिबीचको सहमतिअनुसार दिक्तेल बजारको विभिन्न ठाउँमा हाइड्रेन्ट गेटभल्भ राख्ने निर्णय गरेको हो ।

 

सो बजारमा २०७२ साल पुस २ गते रत्नपार्कका व्यापारी हीरालाल पुरीको घरबाट सुरु भएको आगलागीबाट पुरीसहित सात स्थानीय बासिन्दाको घरमा क्षति पुगेको थियो । विद्युत् फल्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न तत्कालीन दिक्तेल नगरपालिकाको दमकलमा पानी नहुँदा ठूलो क्षति पुगेको थियो ।

 

बजार तथा आसपासका वडामा प्रशोधित एवम् शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ २०७५ साल चैत १४ गतेदेखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको थियो । सोही खानेपानी आयोजनाअन्तर्गत दिक्तेल बजारका विभिन्न ठाउँमा अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेटभल्भ बनाइएको हो ।

 

सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम सुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभएको छ । आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण, घरघरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडान लगायतका काम गरिने जनाइएको छ ।

 

पन्ध्र वडावडा रहेको नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजार तथा बाम्राङका स्थानीय बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ ।