close

२२ वर्षपछि कालोपत्रे हुँदै कोल्टी–मार्तडी सडक 

२२ वर्षपछि कालोपत्रे हुँदै कोल्टी–मार्तडी सडक 

Trulli
ADVERTISEMENT

बाजुरा–सडक निर्माण सुरु भएको २२ वर्षपछि कोल्टी–मार्तडी सडक खण्ड कालोपत्रे हुन लागेको छ । बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टी सडक खण्ड कालोपत्रेको काम सुरु भएको हो । सुुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्रे प्रक्रिया अगाडि बढेको छ । ०५६ मा निर्माण सुरु भएको कोल्टी–मार्तडी सडक खण्डमा २२ वर्षपछि कालोपत्रेको काम सुरु भएपछि स्थानीय खुसी भएका छन् ।


सुदूरपश्चिम प्रदेश र संघीय सरकारले मार्तडी–कोल्टी सडक खण्ड कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएका छन् । ९ किलोमिटर सडक खण्डमा सडक चौडादेखि वाल हाल्ने काम सम्पन्न भएर कालोपत्रे गर्ने तयारीमा पुगेको छ । बडीमालिका नगरपालिकाको चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर कालोपत्रेको जिम्मा पाएका ठेकेदारले सुस्त काम गरेको स्थानीयको गुनासो छ ।


ढम्कनेदेखि कोल्टीसम्म तेस्रो फेजमा सडक चौडा बनाउने काम भइरहेको छ । कोभिडले काममा बाधा गरे पनि अहिले कामले तीव्रत पाएको हो । ९ किलोमिटर असार मसान्तसम्म कालेपत्रे गरिसक्ने गरी काम भइरहेको धुलिखेल गाल्भा श्याम एन्ड शंकर जेभीका प्रतिनिधिले बताए । प्रदेश सरकारले यो सडकलाई बहुवर्षीय योजनामा अघि सारेको र सडक पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत काम भइरहेको आयोजना प्रमुख रुद्ध बोगटीले जानकारी दिए । मार्तडी–कोल्टी सडक खण्ड स्तरोन्नति नहुँदा नागरिकले सास्ती भोग्दै आएका छन् ।


अहिले बाटो चौडादेखि कालोपत्रे सुरु भएपछि आउजाउ सहज हुँदै गएको बडीमालिका नगरपालिकाले जनाएको छ । विगतमा ४१ किलोमिटरमा ३५ करोड रुपैयाँ बढी खर्च भइसकेको छ । तर, सडक खण्डमा गाडी तानेरै यात्रा गर्नुपर्ने बाध्यता थियो । खाल्डाखुल्डीका कारण यातायातका साधन र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो ।


यो सडक कालोपत्रेपछि बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकासँगै छिमेकी हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने प्रदेश सांसद बलदेव रेग्मीले बताए । ७ फागुन ०५६ मा तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए । शिलान्यासका बेला ०६० सम्म कोल्टीमा गाडी पु¥याइसक्ने लक्ष्य राखिएको थियो । तर, बजेट व्यवस्थापन र द्वन्द्वले काम अघि बढ्न सकेको थिएन ।


यो सडकमा कामका लागि खाद्यान्न कार्यक्रमबाट २७ करोड ४० लाख, जिविस बाजुराबाट ८ लाख, कर्णाली वरिपरिको कार्यक्रमबाट ३६ लाख, उत्तरी क्षेत्रका गाविसबाट २१ लाख र सडक विभागबाट ५ करोड गरी ३३ करोड ५४ लाख ५ हजार, बडीमालिका, बूढीनन्दा नगरपालिकाबाट १ करोड रुपैयाँ बढी खर्च बेहोरिएको थियो । सडक कालोपत्रे भएसँगै यो क्षेत्रको पर्यटन, कृषिलगायतमा टेवा पुग्नेछ ।