close

जुम्ला– डोल्पा अन्तरजिल्ला सडक शिलान्यास

जुम्ला– डोल्पा अन्तरजिल्ला सडक शिलान्यास

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ४ प्याकुरेबाडा–मुडुरी हँुदै डोल्पा जोड्ने सडक शिलान्यास गरिएको छ । गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सडक शिलान्यास गरे ।

 

जुम्ला खलंगाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडक हाल सञ्चालनमा छ । यो सडकमा अहिले साना सवारी चलिरहेका छन् । प्याकुरेबाडा–मुडुरी, गोठीगाउँ हुँदै डोल्पा जोड्ने सडक शिलान्यास भएको हो । यो सडक हिउँदका लागि उपयुक्त हुनेछ ।

 

डोल्पामा सडक विस्तार गर्न दुहिया भीर फुटाल्नुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले भने, ‘गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्न सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ । यसले डोल्पा, जुम्लाको व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ ।’

 


गुठीचौरदेखि डोल्पासम्म सडक विस्तार गर्न २ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । सडक निर्माण गर्न गुठीचौर गाउँपालिकाको १ करोड ३० लाख तथा कर्णाली प्रदेशको समपूरक बजेटबाट १ करोड ३० रुपैयाँ विनियोजन भएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले सडकको गुणस्तर र मापदण्डको विषयमा ख्याल पु¥याउन आग्रह गरे । ‘काम चलाउनका लागि सडक खन्नु आवश्यक छैन । सडकको चौडाइ, लम्बाइ र गुणस्तरमा ध्यान दिनुपर्छ’, उनले भने ।

 


सडक शिलान्यास गर्न गुठीचौर वडा नम्बर ४ का वडाध्यक्ष जग्गीप्रसाद जैसी, प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटा, सब–इन्जिनियर मीमबहादुर भण्डारी, योजना शाखा प्रमुख विष्णुप्रसाद देवकोटा, स्थानीयलगायत सहभागी थिए । यो सडक निर्माणपछि डोल्पा छिटोछरितो हुनेछ । ‘अन्य सडकभन्दा यो सडक छोटो हुनेछ’, अध्यक्ष भण्डारीले भने, ‘यो सडकबाट बाह्रैमास सहज यात्रा गर्न सकिनेछ । हिलो, धुलो, हिउँले छेकबार लगाउने छैन ।’

 

जुम्ला र डोल्पाको व्यापारी नाका गुठीचौर गाउँपालिका हो । व्यापारका सामान आयात तथा निर्यात गर्न सजिलो हुने ४ नम्बरका वडाध्यक्ष जग्गीप्रसाद जैसीले बताए । उनले भने, ‘जुम्लाको जडीबुटी र स्याउ, डोल्पाको बहुमूल्य यार्सासहितका जडीबुटी ओसारपसार गर्न सकिनेछ । कर्णालीका लागि लाभदायक सडक हुनेछ ।’

 

सडक शिलान्यास कार्यक्रममा गुठीचौर वडा नम्बर ४ का १ सय ११ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष जैसीले बताए ।