close

वीरेन्द्र सभागृह पुनर्निर्माण गर्दै विराटनगर

वीरेन्द्र सभागृह पुनर्निर्माण गर्दै विराटनगर

Trulli
ADVERTISEMENT

मोरङ–विराटनगर महानगरको वीरेन्द्र सभागृह पुनर्निर्माण तीव्र गतिमा अगाडि बढेको छ । सभागृहको पुरानो भवन प्रबलीकरणसँगै परिसरभित्र नयाँ भवनको निर्माण भइरहेको छ ।

 

जीर्णावस्थामा रहेको सभागृहको स्वरूप परिवर्तन नहुने गरी विराटनगर महानगरपालिकाले भवनको पुनर्निर्माण गरिरहेको
छ । महानगरले नगर विकास कोषको लगानी साझेदारीमा सभागृह पुनर्निर्माण अघि बढाएको हो ।

 

कोषले १२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ भने प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कुल २० करोड रुपैयाँ लागतमा सम्पन्न हुने सभागृह पुनर्निर्माणको ठेक्का समानान्तर जोशी र श्ब्यांक्वेट जेभीलाई दिएको छ ।

 

भूकम्प प्रतिरोधी समाज एनसेट नेपालको पर्यवेक्षणमा निर्माणाधीन योजनाको डिजाइन अरनिको डिजाइनर प्रालि काठमाडौंले गरेको हो । आगामी मंसिरसम्म सम्पन्न गरिसक्नुपर्ने सभागृहको कामलाई केही समययता ठेकेदार कम्पनीले पनि तीव्रता दिएको छ ।

 

ठेकेदार कम्पनीले सभागृहको पूर्वतर्फ दुईतले भवन निर्माण गरेको छ । भुइँतलामा शौचालय र माथिल्लो तलामा प्रशासनिक शाखा राख्ने उद्देश्यसहित भवन निर्माणाधीन रहेको विराटनगर महानगरका इन्जिनियर अर्जुन थापाले बताए । 

 

यसैगरी पूर्वतर्फ निर्माणाधीन अर्को एकतले भवन फिनिसिङ चरणमा छ । त्यसमा विशिष्ट पाहुना कक्ष र मिटिङ हल निर्माण गरिनेछ । त्यहाँ विशिष्ट पाहुना आउँदा बस्ने र बैठक गर्न मिल्ने गरी छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । 

 

उत्तरतर्फ पनि नयाँ भवन बनाइएको छ । यो भवनमा स्टेज कार्यक्रम गर्नेका लागि चेन्जिङ रुमको व्यवस्था गरिनेछ । पुनर्निर्माणका क्रममा पुरानो सभागृहको भवनभित्र र बाहिरका पर्खाल पाँच इन्च मोटाइमा ढलान गरिँदै छ ।प्रबलीकरणमार्फत भवन तयार भइसकेपछि भित्र र बाहिर सौन्दर्यकरणको काम अघि बढाइनेछ । भवनको अघिल्लो भागमा रहेको भ-याङ हटाउने र त्यस ठाउँमा ‘वाटर फाउन्टेन’ निर्माण गरिने इन्जिनियर थापाले जानकारी दिए ।

 

उनका अनुसार भवनको बाहिरी भागमा दुई ठूला स्क्रिन राखिनेछन् । सभाहलभित्र नअटाएर बाहिर बसेका मानिसले तिनै स्क्रिनबाट कार्यक्रम हेर्न सक्नेछन् । विराटनगर महानगर प्रमुख भीम पराजुलीले निर्वाचनकै बेला प्रतिबद्धता गरेको सभागृह पुनर्निर्माण कार्यकालको अन्तिम समय भए पनि सुरु गरिएको बताए ।