close

पालिकाभित्र पूर्वाधार निर्माण गरेर गाउँलाई सुगम बनाउँदै मिक्लाजुङ

पालिकाभित्र पूर्वाधार निर्माण गरेर गाउँलाई सुगम बनाउँदै मिक्लाजुङ

Trulli
ADVERTISEMENT

मोरङ– स्थानीय तहमा स्रोत–साधन अभावका कारण जनप्रतिनिधिले काम गर्न नसक्दा नागरिकले गुनासो गरिरहेका हुन्छन् । तर, मोरङको मिक्लाजुङ गाउँपालिकाले भने पालिकाभित्र पूर्वाधार निर्माण गरेर गाउँलाई सुगम बनाउने गरी गौरवका योजना अघि बढाइरहेको छ । पाँच वर्षमा ११ करोड खर्च गर्दा गाउँपालिका समृद्धिको यात्रातर्फ अघि बढेको छ । 


मधुमल्ला मोरङकै पुरानो बजार हो । यातायात सुविधा नहुँदा यो बजार आइपुग्न स्थानीयले निकै सास्ती भोग्नुपथ्र्यो ।  जनप्रतिनिधिको पहलकै कारण अहिले बजारसम्म पुग्ने सडक कालोपत्रे भएको छ । नागरिकको आउजाउ बढ्न थालेसँगै बजार गुल्जार बन्न पुगेको छ । पूर्वाधार निर्माणलाई गाउँको गौरवको रूपमा जनप्रतिनिधिले चिनाएका छन् । गाउँपालिकाले छविचोकदेखि भण्डारीचोक सडक खण्डलाई कालोपत्रे गरेको छ । नदीमा पक्की पुल बनाएर सबै वडासँग सडक सञ्जाल जोडेको छ । अहिले गाउँपालिकाको ९ वटै वडामा एम्बुलेन्स पुगेको छ भने बाह्रै महिना सडक सञ्चालनमा आउन थालेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

 

कृषिका लागि जमिन उर्वर भए पनि बजारीकरणको समस्या थियो । स्थानीय कृषकले उत्पादन गरेका उपज सडकको दुरावस्थाले बजार पु¥याउन मुस्किल हुने गर्दथ्यो । सडक सञ्चालनमा आएपछि उत्पादन बजारसम्म लैजान सक्ने अवस्था बनेको छ । गाउँपालिकाको तथ्यांकअनुसार सबै वडाका गरी कुल ७ सय किलोमिटर सडक ग्राभेल भइसकेको छ । सडकका कारण सबैभन्दा प्रताडित वडा नम्बर १, वडा नम्बर २ का बासिन्दा अहिले हर्षित छन् । त्यसबाहेक वडास्तरमा जनप्रतिनिधिले सडक विस्तार, कालोपत्रे र ड्रेन बनाउने काम गर्दै आएको वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बूको भनाइ छ ।

 

गाउँपालिकाले पूर्वाधारमा आव ०७४/७५ मा १ करोड २० लाख, आव ०७५/७६ २ करोड, आव ०७६/७७  ३ करोड ५० लाख, आव ०७७/७८ मा २ करोड ५० लाख, आव ०७८/७९ १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

गाउँपालिकाले आफ्ना योजना पूरा गर्न आर्थिक वर्ष ०७६/७७ मा सबैभन्दा बढी बजेट विनियोजन गरेको थियो । कार्यकालको अन्तिम आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने आयोजनाका लागि भने कम बजेट विनियोजन गरेको छ । हालसम्म गौरवका आयोजना सम्पन्न गर्न ११ करोड खर्च भएको छ । यो रकममा संघीय र प्रदेश सरकारको अनुदानले पनि सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए ।

 

गौरवशाली योजनामा कुनै अवरोध आउन नदिन साझा संयन्त्र र उपभोक्ता समिति गठन गरियो । हरेक आयोजनामा छलफल गरेर अघि बढ्दा अहिले त्रुटिरहित काम हुँदा मिक्लाजुङबासीमा खुसीको सञ्चार भएको प्रमुख प्रशासकीय अधिकृत राईको दाबी छ । 

 

गाउँमा रहेका नदी तथा खोलाको पूर्वाधार र नदी नियन्त्रणमा दिगोपना तयार हुँदै गएको छ । पालिकाका सबै क्षेत्रमा विद्युत् पहुँच पुगेको छ । सरकारको १५औँ राष्ट्रिय योजनामा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमलाई अघि बढाउने नीति लिइएको छ ।